जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार ०७:४५

मार्क्सवादका नेपाली सूत्रधार पुष्पलालको ४१औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै


काठमाडौं, साउन ७ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरण गरी ४१औँ स्मृति दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा कम्युनिस्ट पार्टीमार्फत नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेकपा स्थापना गर्नुभएका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले विसं २००६ वैशाख १० गते नेकपा स्थापना गर्नुभएको थियो । नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाइ लड्नुभयो । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मनुभएका पुष्पलाल आफ्नो जीवनभर सङ्गठन विस्तारमा लाग्नुभयो । उहाँले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गर्नुभयो ।

पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत हुनुहुन्छ । पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ २०२५ सालमा अगाडि सार्ने उहाँ पहिलो नेता हुनुहुन्छ । स्मृति दिवसका अवसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले मंगलबार पुष्पलाल स्मृति पार्क चम्पादेवीमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतको उपस्थिति रहनेछ ।

नेकपा स्थापना गर्दा पुष्पलालले घोषणापत्रमा सामन्ती एकतन्त्रीय शासनको अन्त्य गर्ने, वैदेशिक शोषण र दमन समाप्त पारी राष्ट्रियता, स्वाधीनता हासिल गर्ने, वालिग मताधिकार कायम गर्ने, संविधानको आधारमा जनताका लागि पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र सुरक्षण गर्ने, मजदूर किसान श्रमजीवी जनताको हितलाई प्राथमिकता दिने उल्लेख थियो । यस्तै घोषणापत्रमा सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिहरूको सरकार स्थापना गर्ने तथा क्रान्तिकारी भूमिसुधार लागू गर्नेसमेत समावेश थियो ।

उहाँको विचार र दर्शनका आधारमा आज नेकपाले आर्थिक समृद्धिको नारासहित दुईतिहाई जनमत प्राप्त सरकारको नेतृत्व गरिरहेको छ । देश र जनताप्रति समर्पण राख्ने, सिद्धान्तनिष्ठ अनुशासित र संघर्षमा रमाउने पुष्पलालबाट कोरिएको नेकपाको मार्गचित्रबाट नयाँ नेपाल निर्माण हुने विश्वास लिइएको छ । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ । यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भइरहेको छ ।

यसलाई नेपाली मार्क्सवादीले मार्क्सवादी चेतना र साहित्यको थालनीका रुपमा समेत अर्थ्याएका छन् । दाजु गंगालाको हत्या पश्चात् राणाशाहीको जरो काट्ने प्रण पुष्पलालले गर्नुभएको थियो । त्यतिखेर उहाँ १५ वर्षका किशोर हुनुहुन्थ्यो । पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठका माइला सुपुत्रका रूपमा रामेछापको भङ्गेरीमा विसं १९८१ असार १५ मा उहाँको जन्म भएको थियो । पिता भक्तलाल रामेछापमा मालका सुब्बा हुनुहुन्थ्यो, पछि छोराका कारणले जागिर खोसिएको थियो ।