भक्तपुर, साउन ११ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम समयमा सैद्धान्तिक तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए ग्रेडसिटमा ‘नन ग्रेडिङ’ उल्लेख हुने व्यवस्था हटाएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज दिउँसो नतिजा प्रकाशन गर्दैछ ।
कोभिडका कारण विद्यार्थीले कक्षा ९ र १० मा राम्रो पठनपाठन गर्न नपाएको, पाठ्यक्रम पनि पूरा नभएको भन्दै बोर्डलाई लेटरग्रेडिङ निर्देशिका २०७८ लागू नगर्न दबाब परेको थियो । विशेष गरी निजी विद्यालय सञ्चालकले शिक्षा मन्त्री देवेन्द्र पौडेललाई समेत भेटर दबाब दिएका थिए ।
नतिजा तयारीको क्रममा नतिजा अत्यन्तै खस्कने देखिएपछि अन्तिम समयमा नन ग्रेडिङ सम्बन्धित व्यवस्था हटाइएको पनिका स्रोतको दाबी छ । स्रोतका अनुसार लेटरग्रेडिङ पद्धति २०७२ कै आधारमा नतिजा प्रकाशन गर्न सकिने निर्णय भइसकेको छ ।’ २०७२ अनुसार नतिजा प्रकाशित गर्दा ३० देखि ४० अंक, २० देखि ३० र २० भन्दा कम अंक ल्याउने विद्यार्थीको पनि ग्रेडिङ हुन्छ ।
कक्षा १० मा शैक्षिकसत्र २०८० देखि मात्रै नयाँ पाठ्यक्रम लागू हुँदैछ । एउटै पाठ्यक्रमका आधारमा अध्ययन गरेका विद्यार्थीको दुईथरि मूल्यांकन हुने हुँदा यसपालि पुरानै पद्धतिमा नतिजा सार्वजनिक हुने उनले जनाए । यो वर्ष बोर्डले नयाँ लेटर ग्रेडिङ पद्धतिअनुसार एसईईलगायत कक्षा (१–१२) को नतिजा सार्वजनिक तयारी गरेको थियो ।
लेटरग्रेडिङ निर्देशिका २०७८ अनुसार कुनै पनि विषयको परीक्षामा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त नगरे माथिल्लो कक्षामा अध्ययन गर्न पाइने छैनन । जुन कुनै विषयको सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अंक प्राप्त गरेमात्र माथिल्लो कक्षामा भर्ना हुन पाइने व्यवस्था गरेको छ । पुरानो ग्रेडिङ पद्धतिका कारण विद्यार्थीमा स्वतः पास हुने भन्दै नपढ्ने प्रवृत्ति बढेको ठहर गर्दै नयाँ पद्धति लागू गर्ने निर्णय भएको थियो ।
त्यसमा सैद्धान्तिकतर्फ ३५ प्रतिशत अंक प्राप्त नगर्ने विद्यार्थीको ग्रेडसिटमा ‘नन ग्रेडिङ ९एनजी०’ उल्लेख हुने प्रावधान उल्लेख छ । यस्ता विद्यार्थीले उपल्लो कक्षामा पठनपाठन गर्न पाउने छैनन् भने ३ पटकसम्म ग्रेडवृद्धि परीक्षाको अवसर पाउनेछन् । दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड प्राप्त नगर्ने विद्यार्थीले अर्को वर्ष सबै विषयको परीक्षामा संलग्न हुन वा सोही कक्षामा पुनः अध्ययन गर्न पाउने व्यवस्था निर्देशिकामा गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्