जनता टाइम्स

११ श्रावण २०७९, बुधबार १४:०८

शान्ति सुरक्षाको अवस्था भयावह, एकैदिन चार जना मृत अवस्थामा भेटिए


काठमाडौं, साउन ११ । पछिल्लो समय मुलुकको शान्ति सुरक्षाको अवस्था निकै भयावह बनेको तथ्य घटनाहरुले देखाएको छ । सरकारले गठबन्धन जोगाउनेबाहेक अन्य कुनै पनि बिषयमा ध्यान दिन नसक्दा दैनिकजसो हत्या, हिंसा र बलात्कारका घटना बढेको पाइइएको हो ।

शान्ति सुरक्षाको अवस्था कमजोर बन्दा हरेक दिन बुधवार मात्रै सुनसरी, नवलपरासी (पूर्व), प्युठान र धादिङमा चार जना मृत अवस्थामा फेला परेका छन् । सुनसरीको देवानगन्ज गाउँपालिका–२ यादव टोल बस्ने ३३ वर्षीया सविता यादव सुतेकै ठाउँमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

नवलपरासी (पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नहरमा हाल पहिचान नखुलेकी अन्दाजी २० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन । यस्तै प्युठानको सरुमारानी गाउँपालिका–६ गोधधारास्थित गोधधारा जंगलको भिरमा हाल पहिचान नखुलेका पुरुषको शव सडिगलेको अवस्थामा मंगलबार फेला परेको छ ।

धादिङको सिद्धलेक गाउँपालिका–६ खरमटारस्थित त्रिशुली नदीमा पहिचान नखुलेकी करिब ४० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी हुन । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।