जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार ०८:४७

मनसुन सक्रिय भएकाले सतकर्ता अपनाउन आग्रह


काठमाडौं, साउन ७

मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेको र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभर वर्षाको सम्भावना रहेको छ । मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वका अधिकांश तथा मध्य तथा पश्चिमका केही स्थानहरुमा वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।मंगलबार बिहान देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली भएर केही स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ । यस्तै, पश्चिममा आंशिकदेखि सामान्य बदली भएर केही स्थानमा वर्षा भइरहेको मौसमविदले जानकारी दिएका छन् ।

मंगलबार दिउँसो देशको पूर्वी तथा मध्य भूभागमा पूर्ण बदली हुने र पश्चिमका केही स्थानहरुमा मेग गर्जनका साथ वर्षा हुने मौसमविदहरुको अनुमान छ । यस्तै, मंगलबार राति पूर्वी तथा मध्यका केही स्थानमा र पश्चिमका थोरै स्थानहरुमा भारि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पुनः मनसुन सक्रिय भएकोले अबको तीन दिन सम्म नै केही भूभागमा भारी वर्षा हुने भएकाले पहाडी भूभागमा पहिरो जान सक्ने तथा चुरेबाट बहने खोलाहरुमा जल सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।