धनगढी, ११ साउन । नेपाल सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य संस्थाले बन्द गर्न थालेका छन् । लामो समयदेखि विमितको पैसा भुक्तानी नभएको र पटक–पटक रकम भुक्तानीका लागि परिपत्र गर्दा समेत बेवास्ता गरेको भन्दै अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्न थालेका हुन् ।
गोदावरीस्थित गेटा आँखा अस्पतालले लामो समयसम्म बीमाबाट पाउनुपर्ने पैसा नपाएपछि स्वास्थ्य बीमाकार्डबाट सेवा दिन बन्द गरेको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताललगायत स्वास्थ्य संस्थाले पनि बीमाको स्वास्थ्य कार्यक्रम बन्द गर्ने चेतावनी दिएका छन् ।
‘लामो समयदेखि बीमाको रकम भुक्तानीका लागि परिपत्र गर्दासमेत बीमा बोर्डले चासो देखाएन,’ गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक डा. रमेशचन्द्र भट्टले भन्नुभयो, ‘अस्पताल स्रोतले थप आर्थिक भार थेग्न नसक्ने भएपछि अहिले सेवा बन्द गरिएको छ ।’
वैशाखमा रकम भुक्तानी नभए सेवा बन्द गर्नुपर्ने अवस्था आएको भन्दै बीमा बोर्डलाई पत्राचार गरिए पनि त्यसको प्रतिक्रिया नआएपछि असारदेखि सेवा बन्द गरिएको उहाँले बताउनुभयो । बीमा बोर्डले भुक्तानी गरेको पैसासमेत स्पष्ट नभएको उहाँले बताउनुभयो ।
‘कुनै रकम तत्कालै भुक्तानी भएको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘कुनै रकम लामो समय देखि रोकिएको छ, बीमा बोर्डले स्पष्ट हिसाब नदिंदा व्यवस्थापनमा समस्या देखिएको छ ।’ भट्टका अनुसार बीमा बोर्डले गेटा आँखा अस्पताललाई तीन करोड बढी बीमाबापतको रकम भुक्तानी गर्नु पर्नेछ ।
तर सेवा बन्द भएपछि पनि बीमा बोर्डले रकम भुक्तानीका लागि कुनै चासो नदेखाएको उहाँ बताउँनुहुन्छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले पनि गत वर्षको रकम भुक्तानी नगरे स्वास्थ्य बीमा कार्यक्रमलाई रोक्नुपर्ने अवस्था आउन सक्ने चेतावी दिएको छ । हाल बीमा बोर्डले सेती प्रादेशिक अस्पताललाई तीन करोड ५० लाख भुक्तानी दिन बाँकी छ ।
सो रकम भुक्तानीका लागि स्वास्थ्य बीमा बोर्डलाई पत्राचार गरिएको सेती प्रादेशिक अस्पतालका लेखा अधिकृत मदन महराले बताउनुभयो । ‘बोर्डले साउनको अन्तिममा वा भदौको पहिलो हप्ताभित्र रकम पठाउने आस्वासन दिएको छ,’ उहाँले भन्नुभयो, ‘त्यति बेलासम्म बीमितलाई अस्पतालमा स्वास्थ्य सेवा दिइने छ, तर भदौ सम्म रकम भुक्तानी नगरिए के हुन्छ भन्ने सकिँदैन ।’
कञ्चनपुरको महाकाली अस्पतालले पनि बीमाको रकम भुक्तानी नहुँदा समस्या भएको जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले गत आर्थिक बर्षको बीमाबाट पाउनुपर्ने रकम अझै नआएको बताउनुभयो ।
‘बीमितको स्वास्थ्य परीक्षणदेखि औषधिसम्म निस्शुल्क गर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘सो पैसा बीमा बोर्डले भुक्तानी गर्नुपर्ने हो, तर एक वर्षसम्म पनि बीमितले उपचार गरेको रमक भुक्तानी नहुँदा समस्या भइरहेको छ, यस विषयमा बोर्डलाई पनि जानकारी गराइसकेका छौं ।’ रकम तत्कालै भुक्तानी नभए स्वास्थ्य बीमा कार्यक्रम हटाउनु पर्ने हुन सक्ने उहाँले बताउनुभयो । उहाँले रकम भुक्तानीका विषयमा बोर्डको कार्यलयमै गएर बुझ्ने तयारी भइरहेको बताउनुभयो र
‘उसै पनि अस्पतालमा जनशक्ति अभावका कारण करारमा स्वास्थ्यकर्मी राख्नुपर्ने बाध्यता छ,’ उहाँले भन्नुभयो, ‘बीमा बोर्डले वीमितको रकम नदिंदा स्वास्थ्यकर्मीलाई तलब दिन समस्या भइरहेको छ ।’ स्वास्थ्य बीमा कार्यक्रमले नागरिकको विश्वास बढाए पनि त्यसलाई व्यवस्थापन गर्न नसक्दा बीमितलाई सेवा दिन समस्या भएको उहाँको भनाइ छ । जिल्ला अस्पताल बझाङले पनि लामो समयदेखि स्वास्थ्य बीमाले पैसा दिन बाँकी रहेको जनाएको छ ।
अस्पतालका एमडी डा. अन्वस कोइरालाले अस्पतालमा ८० प्रतिशत विरामी बीमा कार्ड लगेर आउने गरेका बताउनुभयो । तर लामो समयसम्म बीमितलाई उपचार गराएको पैसा नपाइएको उहाँले बताउनुभयो । ‘स्वास्थ्य बीमा कार्यक्रम नेपाल सरकारबाट सञ्चालन भएको छ,’ उहाँले भन्नुभयो, ‘पैसा नआउने भन्ने त हुँदैन, तर समयमै नदिंदा व्यवस्थापनमा समस्या भइरहेको छ ।’












प्रतिक्रिया दिनुहोस्