जनता टाइम्स

१२ श्रावण २०७९, बिहीबार ०८:३५

पूर्वीनवलपरासीमा अत्यधिक वर्षा, खतराको साइरन बजाइयो


काठमाडौं, १२ साउन ।  बारा, पर्सा, चितवन, पूर्वी नवलपरासी, रुपन्देही र कास्कीका केही स्थानमा भारी वर्षा भएको छ ।वर्षा र बाढीले क्षति पुर्‍याउन सक्ने भएकाले तटीय क्षेत्र आसपास र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।विभागको बाढी सूचना केन्द्रका अनुसार बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्सा जिल्लाका धेरै स्थानमा भारी वर्षा मापन भएको छ ।

सूचना केन्द्रले आज बिहान साढे ५ बजे जारी गरेको सतर्तकताको सूचना अनुसार ती क्षेत्रमा तीन घण्टादेखि लगातार भारी वर्षा मापन भएको थियो । त्यसैले पसाहा खोला, दुधौरा खोला लगायतका अन्य साना खोलाका तटीय क्षेत्र आसपास र डुबान भइरहने होचा स्थानमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।परवानीपुरमा पछिल्लो २४ घण्टामा १०८ मिलिमिटर वर्षा मापन भएको छ । त्यसैले सो क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।

यसैगरी पूर्वीनवलपरासी पूर्वको दुम्कौलीमा पनि भारी वर्षा मापन भएको छ । दुम्कौलीमा पछिल्लो २४ घण्टामा १३४.४ मिलिमिटर वर्षा मापन भएको छ । त्यहाँ पनि खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।

यसैगरी चितवनको माडी क्षेत्रको छर्छरे, कल्याणपुर, बनकट्टा, गोविन्द बस्ती र आसपासको क्षेत्रमा पनि आज बिहान भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्र भई बहने रिउखोला र अन्य खहरेखोलामा बाढीले क्षती पुर्‍याउन सक्ने भएकाले नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

गएराति नै मकवानपुरको हेटौंडा, चितवनको शक्तिखोर, नवलपरासी, रूपन्देही, कास्की र आसपास केही स्थानमा भारी वर्षा भएकाले आज बिहान १० बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।