झापा, साउन ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहनगर दमकका पार्टी नेता र कार्यकर्ताबीच कठोर रुपमा प्रस्तुत हुनुभएको छ । अध्यक्ष ओलीले राष्ट्रिय राजनीति एमालेको पक्षमा भइरहँदा स्थानीय तहको निर्वाचनमा दमक नगरपालिका हार्नुको कारण के हो भनेर नेता–कार्यकर्तासँग प्रश्न गर्नुभएको छ ।
‘यस पटक दमकमा विरोधीलाई फाइदा पुग्ने काम भएको छ’ अध्यक्ष ओलीले भन्नुभयो, ‘विभिन्न हिसाबले विरोधीलाई सघाउने काम मात्र भयो भने हामी उनीहरुका भरिया मात्र हुन्छौं ।’ विरोधीलाई भोट दिएर जिताएपछि उसको झण्डा बोकेर आफूलाई गरेको गाली सहनु पर्ने बाध्यात्मक अवस्था आउने पनि अध्यक्ष ओलीको भनाइ छ ।
अर्कालाई जिताएर आफैं अपमानित हुने र लज्जित हुने काम नगर्न पार्टीका नेता–कार्यकर्तालाई अध्यक्ष ओलीले निर्देशन दिनुभयो । ‘हामीले व्यक्ति उठाउने होइन, पार्टी उठाउने हो, पार्टीले व्यक्तिलाई निर्देशित गर्ने हो नेतृत्व गर्ने हो,’ अध्यक्ष ओलीले भन्नुभयो । सबैले पार्टीको सिद्धान्त र नीति बुझ्नु पर्नेतर्फ पनि अध्यक्ष ओलीले ध्यानाकर्षण गराउनु भयो ।
उहाँले एकपटक गरेको गल्ती नदोर्याउन र पार्टीलाई आगामी दिनमा जित्ने गरी काममा लाग्न पनि दमका कार्यकर्तालाई निर्देशन दिनुभएको छ । दमक नगर पार्टी कार्यलयमा अगुवा कार्यकर्ताहरुसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले एमालेलाई एक ढिक्का बनाएर राष्ट्रिय राजनीतिको मियोको रुपमा स्थापित गर्ने अभियानमा आफू रहेको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्