काठमाडौं, साउन १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसको सर्तअनुसार उस्को नीति र नेतृत्व मानेर जान तयार देखिनुभएको छ । कोटेश्वर पेरिसडाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले यस्तो संकेत गर्नुभएको हो ।
कांग्रेसको बिकल्प खोज्दा आफूहरु सर्वनाश हुनसक्ने तर्क गर्दै अध्यक्ष प्रचण्डले बैठकमा यस्तो संकेत दिनुभएको एक सदस्यले जनताटाइम्स डटकमलाई बताए । ती नेताका अनुसार कांग्रेसले भनेअनुसार नगर्दा माओवादीले जित्ने आधा दर्जन क्षेत्र पनि नभएको तर्फ गम्भीर बन्नुपर्ने प्रचण्डको भनाई छ ।
नेपाली कांग्रेसले चुनावी तालमेल वा गठबन्धनका लागि पाँच बर्षसम्म कांग्रेस नेतृत्वको सरकार, परराष्ट्र नीति र आर्थिक नीति स्वीकार गर्नुपर्ने सर्त राखेको छ । प्रचण्डले आजको बैठकमा कांग्रेसको तीनवटै सर्त मानेर जान तयार रहेको सन्देश स्थायी कमिटीका नेताहरुलाई सुनाउनु भएको हो । बैठकमा अध्यक्ष प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने पनि बताउनु भएको छ ।
एमालेसँग गठबन्धन हुन नसक्ने भएकाले कांग्रेसको विकल्प खोज्न नहुने तर्क उहाँको छ । ‘ कांग्रेससँगै सहकार्य गर्ने भएकाले दायाँ–बायाँ सोच्नुहुन्न,’ बैठकमा प्रचण्डको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्