जनता टाइम्स

१३ श्रावण २०७९, शुक्रबार ११:१६

चुनावको मिति घोषणामा पनि प्रचण्डले राखे शर्त


काठमाडौं, साउन १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान खुमलटारमा दुई नेताबीच समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ ।

नागरिकता विधेयक, संघ र प्रदेश निर्वाचनको मिति घोषणालगायत विषयमा कुराकानी भएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा गर्न विभिन्न दलका प्रमुख र कांग्रेसकै नेताहरूसँग परामर्श गरिरहनुभएको छ ।

देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि निर्वाचनको मिति घोषणा गर्न लागेको जानकारी गराउनु भएको थियो तर, प्रचण्डले एक दुई दिन पर्खिन सुझाव दिनुभएपछि आज गृहमन्त्री भटन पठाउनु भएको हो ।

बिहीबार आयोजित एक कार्यक्रममा प्रचण्डले आफूले प्रधानमन्त्री देउवालाई केही दिन पर्खन भनेको र चाँडै निर्वाचनको मिति घोषणा हुने बताउनु भएको थियो । आजको भेटमा पनि प्रचण्डले तत्काल चुनावको मिति घोषणा गर्न नहुने बताउनु भएको छ ।

गृहमन्त्री निकट स्रोतका अनुसार प्रचण्डले चुनावको मिति घोषणाअगावै गठबन्धनको सीट भागबण्डा मिल्नुपर्ने तर्क गर्नुभएको छ । माओवादीभित्रै एमालेसँग मिल्नुपर्ने आवाज ठूलो रहेको भन्दै प्रचण्डले कांग्रेससँगै मिलेर जाने आफ्नो योजना पूरा गर्न पनि प्रस्ताव गर्नुभएको स्रोतको भनाई छ ।