काठमाडौं, साउन १३ । नेपाल भ्रमणमा रहनु भएका दक्षिण तथा मध्य एशियासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आफ्नो पहिलो पहिलो प्रेम नेपालबाटै सुरु भएको तथ्य खोल्नुभएको छ ।
पहिलो पटक नेपाल भ्रमणको बारेमा स्मरण गर्दै लुले आफ्नी पत्नीसँग २९ बर्षअघिको प्रेम कथा सार्वजनिक गर्नुभएको हो । अमेरिकी दूतावासले आफ्नो ट्विटरमा सार्वजनिक गरेको भिडियोमा सहायकमन्त्री लुले आफ्नो प्रेम कथा नेपालबाटै सुरु भएको बताउनु भएको छ । उहाँका अनुसार त्यसबेला प्रेमिकासँग १९९३ मा भारतको दार्जीलिङ हुँदै नेपाल आउनु भएको थियो ।
करिव १ मिनेट ४१ सेकेन्ड भिडियोमा लुले त्यस समयकी प्रेमिका र अहिलेकी पत्नि एरियल एहार्टसँग नेपाल भ्रमणमा आउँदा स्मरण गर्नुभएको छ । ’म पहिलो पटक नेपाल सन् १९९३ मा आएको थिएँ र आज यस क्षेत्रका लागि अमेरिकी सहायक विदेशमन्त्रीरुपमा यहाँ फेरि आएको छु,’ लुले भन्नुभएको छ, ’झण्डै ३० वर्षअघि जब म यहाँ आएको थिएँ । म ती युवतीसँग प्रेममा परे जो आज मेरी श्रीमती छिन ।’
अमेरिकी विदेश मन्त्रालयमा काम सुरु गरेका लुको जनस्वास्थ्य विज्ञ एहर्टसँग २६ वर्षअघि विवाह भएको थियो । उहाँले आफ्नो सन्तानको नाम पनि दक्षिण एशियाबाटै प्रभावित रहेको बताउनु भएको छ । लुदम्पत्तिले आफ्नो सन्तानहरुको नाम आलिया र किप्लिङ राख्नुभएको छ ।
दार्जीलिङबाट रिक्सामा चढेर नेपाल प्रवेश गरेको स्मरण गर्दै लुले भिडियोमा भन्नुभएको छ, ’तराई हुँदै चितवन राष्ट्रिय निकुञ्ज, जनकपुर र काठमाडौं आयौं, हामीले संकोच मान्दै हाम्रा केटाकेटीलाई बताउनु परेको छ कि गर्मीको कारण हामीले अक्सर ती यात्राहरु बसका छतमा बसेर गरेका थियौं । त्यसपछि हामीले उनीहरुलाई कहिल्यै त्यसो नगर्न पनि भन्छौं ।’
उहाँले चितवन निकुञ्जमा जीपमा बसेर अर्ना खोज्दै घुमेको स्मरण पनि गर्नुभएको छ । ’जनकपुरमा हामी दीपावलीको बेला पुगेका थियौं र उक्त चाड मनाउन महिलाहरुले पानीमा दियो बगाएको जनकपुर नजिकैको नदीबाट पार गरेको कुरा कहिलै बिर्सने छैन,’ लुले भन्नुभएको छ, ‘त्यो एकदमै सुन्दर थियो ।’
उहाँले भिडियोमा पाटनको सम्पदाले आफूहरुलाई लोभ्याएको पनि बताउनु भएको छ । ’विश्वको सर्वोत्कृष्ट मध्येका केही खाना चाख्यौं । हिजो साँझ मैले गज्जबको भेज मःम खाएँ । आज स्वादिलो नेवारी परिकारको खोजीमा रहनेछु,’ लुले भन्नुभएको छ, ’नेपाल सधैं मेरो मुटुको नजिकै रहने ठाउँ हो । किनकि पहिलो पटक प्रेममा परेको यही हो ।’
लुलाई २०२१ मा राष्ट्रपति जो बाइडेनले दक्षिण तथा मध्य एशिया मामिलासम्बन्धी सहायक विदेशमन्त्रीमा नियुक्त गर्नुभएको थियो । चिनियाँ मुलका लु सन् १९६६ मा अमेरिका क्यालिफोर्नियामा जन्मिनुभएको हो । सहायक विदेशमन्त्री नियुक्त हुनुअघि उहाँ अल्वानिया र कीर्गिजस्तानका लागि अमेरिकी राजदूतको भूमिकामा हुनुहुन्थ्यो ।
Did you know that @State_SCA A/S Lu has a personal connection with Nepal? Watch to learn more!
के तपाईंलाई अमेरिकी सहायक विदेशमन्त्री Donald Lu को नेपाल नाताबारे थाहा छ। आफ्नो मनपर्ने नेपाल सम्झनाहरूबारे वहाँबाट सुन्नुहोस्। pic.twitter.com/39YmauRUPK— U.S. Embassy Nepal (@USEmbassyNepal) July 29, 2022













प्रतिक्रिया दिनुहोस्