काठमाडौं, १४साउन । ‘साउन २ गतेदेखि पशुपतिनाथ क्षेत्रमा चलेको अतिरुद्र महायज्ञ १० गते सकियो । महायज्ञको प्रमुख वाचक थिए, बलात्कार मुद्दामा सुनसरी जिल्ला अदालतमा ‘अन्डर ट्रायल’मा रहेका कृष्णबहादुर गिरी उर्फ ‘सिद्धबाबा’।
यो महायज्ञमा आशीर्वाद लिन थुप्रै भीआईपीहरू लाइनबद्ध भएर पुगेका थिए । त्यही लाइनमा थिए, महान्यायाधिवक्ता खम्मबहादुर खाती । कानुनतः महान्यायाधिवक्ता सरकारका प्रमुख कानुनी सल्लाहकार हुनुहुन्छ। सरकारवादी भई चल्ने मुद्दामा महान्यायाधिवक्ताको कार्यालय र त्यस मातहतका सरकारी वकिलका कार्यालयले पीडितको पक्षबाट बहस, पैरवी गर्ने कानुनी दायित्व हुन्छ ।
तर, महान्यायाधिवक्ता खाती भने आफू मातहतकै एउटा कार्यालयले विपक्षी बनाएका अभियुक्त सिद्धबाबाको आशीर्वाद ग्रहण गर्न पुग्नुभयो । खाती यतिमै रोकिनुभएन । गम्भीर फौजदारी अभियोग लागेका सिद्धबाबासँगै बसेर तस्वीर पनि खिचाउनुयभो । यसले महान्यायाधिवक्ताको भूमिकामाथि नै प्रश्न उठेको छ ।

सरकारी वकिल पृष्ठभूमि भएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी मुद्दा चलाउने निकायको सर्वोच्च पदमा बसेको व्यक्ति विपक्षीसँग गएर भलाकुसरी गर्नु पदीय मर्यादाविपरीत भएको दावी गर्नुहुन्छ । ‘न्यायाधीशको योग्यता भएको व्यक्ति महान्यायाधिवक्ता बन्ने हो । पीडितको पक्षबाट बहस, पैरवीको कानुनी दायित्व बोकेको व्यक्ति आफैँ अभियुक्तसँग भेटघाटमा जानु कानुनी र नैतिक दुवै हिसाबले मिल्दैन,’ उहाँले भन्नुभयो।
३ वर्षअघि सिद्धबाबाले एक जना महिला अनुयायीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । शक्ति र सत्तासँग नजिक भएका सिद्धबाबाले सुरुदेखि आफ्नो यो अपराधलाई छोप्ने प्रयास गर्नुभएको थियो । काठमाडौं प्रहरी परिसरले जाहेरी लिन नमानेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा दर्ता भएर अनुसन्धान अघि बढेको थियो ।

तर, २२ मंसिर २०७७ मा सिद्धबाबालाई जिल्ला अदालतले नाटकीय रूपमा सफाई दिएको थियो । पीडितको तर्फबाट लड्ने सरकारी वकिलको बहस नै नसुनी सिद्धबाबा पक्षको एकतर्फी सुनुवईकै भरमा उहाँले सफाई पाएउनुभएको थियो यसविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन परेको थियो । उच्च अदालतले जिल्ला अदालतको फैसला त्रुटिपूर्ण ठहर्याउँदै पुनः सुरुदेखि सुनुवाइका लागि जिल्ला अदालतमै फर्काइदियो, ३ जेठ ०७९ मा ।
बुझ्नुपर्ने प्रमाणलाई समेत बेवास्ता गरेर फैसला भएको भन्दै पुनः प्रमाण बुझेर मुद्दा छिन्न भनेपछि अहिले यो प्रकरण जिल्ला अदालतमै आइपुगेको छ । १४ असारमा जिल्ला अदालतमा उच्च अदालतको आदेशसहित मुद्दा दर्ता भएको छ ।
अदालत प्रशासनका अनुसार, प्रतिवादी रहेका सिद्धबाबालाई तारेख दिइसकेको छ । तर, पेसी भने अझै तोकिएको छैन । ‘मुद्दाको प्रक्रिया सुरु भइसकेको छ,’ सुनसरी जिल्ला अदालतका श्रेस्तेदार मोहनबहादुर बस्नेत भन्नुभयो ‘तारेख दिइसकेका छौँ, अब केही दिनमा पेसी तोकिन्छ ।’
सिद्धबाबा प्रमुख बाचक रहेको महायज्ञको उद्घघाटन गर्न पुग्नुभएको थियो, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की । सिद्धबाबाको धाम सुनसरीको बराहक्षेत्रमा छ । मन्त्री कार्कीले पनि सुनसरीबाटै सांसद हुनुहुन्छ । सिद्धबाबाबाको फेसबुक पेज हिमालयन सिद्ध महायोगमा पहुँचदार व्यक्तिहरूसँग खिचिएका तस्वीरले ढाकिएका छन्, जसले उहाँको शक्तिको तुजुक झल्काउँछ ।
धार्मिक आवरण र राज्यका शक्तिशाली व्यक्तिहरूसँगको हिमचिम देखाएर सम्भवतः सिद्धबाबाले गम्भीर अपराधबाट उन्मुक्ति खोजिरहनुभएको छ । त्यसमाथि अभियुक्तलाई कसुरदार ठहर्याउन कानुनी लडाइँ लड्नुपर्ने निकायको प्रमुख व्यक्ति महान्यायाधिवक्ता खाती नै सिद्धबाबाको महायज्ञमा पुगिदिनुभएको छ । ‘सरकारी वकिलले राम्ररी बहस गरेर पनि अदालतमा कसुर स्थापना भएन भने भोलि महान्यायाधिवक्ताको कारण यस्तो भएको भन्ने ठाउँ भयो,’ महान्यायाधिवक्ताको कार्यालयका एक अधिकारी भन्नुभयो, ‘हामीलाई महान्यायाधिवक्ताको यस्तो चालचलनने अप्ठेरो परेको छ ।’
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की त राज्यका महत्वपूर्ण पदमा भएकाहरू अभियुक्तको कार्यक्रममा खुलमखुल्ला जाँदा त्यसको असर न्याय सम्पादनमा पर्नसक्ने बताउनुहुनछ । ‘फौजदारीजस्तो गम्भीर मुद्दामा पुर्पक्षका लागि थुनामा गइसकेको व्यक्तिसँग गएर भेट्दा न्यायकर्तामा समेत मनोवैज्ञानिक असर पर्छ,’ उहाँ भन्नुहुन्छ ‘महान्यायाधिवक्ता त झगडियासँग भेट्नु झनै मिल्दैन ।
आफ्नो मर्यादा नभए पनि कम्तीमा पदको मर्यादा त राख्नुपर्छ ।’खाती पदीय मर्यादाबाट चिप्लिनुभएको छ । ललितलपुरको नाबालिका बलात्कृत भएको घटनामा समेत खातीको भूमिका विवादमा तानिएको थियो । खातीको सचिवालयमा कार्यरत कर्मचारीमार्फत अभियुक्त सुशील चटौतलाई कमजोर अभियोजन लगाउन खातीले दबाब दिएको आरोप छ ।
हालचालै सम्पन्न स्थानीय तहको चुनावमा आफ्नो दाजुलाई मेयर बनाउन मतदान अधिकृतहरूलाई प्रभावमा पार्न खोजेको त निर्वाचन आयोगको स्थलगत प्रतिवेदनले किटेको थियो । यो प्रकरणमा उनलाई कारबाही गर्नुपर्ने प्रतिवेदनको निचोड थियो ।
सामान्य प्रक्रियामा गएको भए सिद्धबाबाको मुद्दा यति बेला पेसी तोकिएर बहस सुरु हुनुपर्ने हो । सामान्यतया मुद्दा दर्ता भएको बढीमा दुई हप्ताभित्र प्रतिवादीलाई तारेख दिइन्छ । तर, १६ असारमा दर्ता भएको सिद्धबाबाको मुद्दामा अदालतले एक महिनापछिको तारेख दिएको छ । साउन २३ मा हाजिर हुने तारेख छ । तारेख लम्ब्याउनुको कारण समेत महायज्ञ नै रहेको सुनसरी जिल्ला अदालतस्रोतको दाबी छ । महायज्ञमा सिद्धबाबा सरिक हुने तालिका पहिल्यै रहेकाले त्यसपछिको तारिख तोकिएको उक्त स्रोतले बतायो । तर मुद्दाको सुनुवाइको पेसी कहिले चढ्छ भन्नेचाहिँ अझै अनिश्चित छ ।
भनेअनुसार नगरे अनिष्ट हुने’ भन्दै बलात्कार
सुनसरीको चतरा आश्रममा बस्ने सिद्धबाबाविरुद्ध ४ कात्तिक २०७६ मा एक महिलाले बलात्कार आरोप लगाएकी थिइन् । उनका लागि नेपाल प्रहरीले निजी सुरक्षा अधिकृत (पीएसओ) पनि उपलब्ध गराउँदै आएको थियो ।
उनको पहुँच प्रहरी उच्च अधिकृतहरुदेखि प्रदेश र संघीय सरकारका मन्त्रीहरुसँग पनि देखिएको थियो । त्यसैले सुरुमा पीडितले किटानी जाहेरी दिंदा प्रहरीले दर्ता गर्न मानेको थिएन ।
तत्कालीन मुख्यमन्त्री शेरधन राईले पनि ‘आफू कृष्णदासजी महाराजबाट प्रभावित’ भएको भन्दै सिद्धबाबाको प्रशंसा गरेका थिए । त्यसैले सुरुमा उनीविरुद्ध जाहेरी लिन प्रहरी पनि तर्किएको थियो । तर पीडित जिल्ला प्रहरी परिसर, काठमाडौं र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)सम्म किटानी जाहेरी लिएर पुगेकी थिइन् ।
सीआईबीले पीडितको स्वास्थ्य परीक्षण गराएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीलाई निर्देशन दिएको थियो । पीडितका अनुसार सिद्धबाबाले ३ कात्तिकमा राति साढे ११ बजे फोन र म्यासेन्जरबाट उनलाई सम्पर्क गरेका थिए ।
जवाफ नफर्काएपछि उनले ‘मैले मौका दिएको बेलामा चुप किन’ भन्दै कुटीमा बोलाएका थिए । पीडितले दिएको जाहेरी अनुसार उनले ‘आफूले भनेअनुसार नगरे अनिष्ट हुने’ बताउँदै धम्की दिएर जबर्जस्ती करणी गरेका थिए ।
सिद्धबाबाले घटनाबारे ‘कसैलाई भने अनिष्ट’ हुन्छ भन्दै धम्क्याउने गरेको पीडितको भनाइ छ । काठमाडौं आएर श्रीमानकै सहयोगमा पीडितले प्रहरीमा सिद्धबाबाविरुद्ध जाहेरी दिएकी थिइन् ।
https://www.facebook.com/jantatimes/videos/522546076312738













प्रतिक्रिया दिनुहोस्