जनता टाइम्स

१४ श्रावण २०७९, शनिबार १५:१६

नेकपा एसभित्र ब्यापक असन्तुष्टि, माधव कम्युनिष्ट सिध्याउने खेलमा लागेको शीर्ष नेताकै निश्कर्ष


काठमाडौं, साउन १४ । नेकपा एकीकृत समाजवादीभित्र नेतृत्वप्रति ब्यापक असन्तुष्टि बढेको पाइएको छ । अध्यक्ष माधवकुमार नेपाल प्रचण्डपथमा लागेर मुलुकको कम्युनिष्ट आन्दोलन नै समाप्त पार्ने दिशातर्फ अग्रसर भएको निश्कर्षसहित बरिष्ठ नेताहरुमै असन्तुष्टि बढेको हो ।

सो पार्टीका वरिष्ठ नेता मकुन्द न्यौपानेले नै सार्वजनिक रूपमै एमालेसँग मिल्नु पर्ने आसयको अभिव्यक्ति दिनुले पनि यसको मापन गर्न सकिने राजनीतिक विश्लेशकहरू बताउँछन् ।

नेकपा एसका बरिष्ठ नेता न्यौपानेले हाफ्नो फेसबुक वालमा लेख्नुभएको छ, ‘एमालेबाहेकको कम्युनिष्ट एकता भन्नु नेपालमा कम्युनिष्ट सिध्याउने खेल हो ।’ उहाँले यसकुरालाई थप स्पष्ट पार्दै भन्नुभएको छ ‘एमालेसहितको बामपन्थी गठबन्धनलाई अघि बढाउनु नै अहिलेको एक मात्र बाटो हो ।’

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले केही दिनअघि वामन्थी एकताको पहल गर्ने निर्णय नै गरेको थियो । तर, सो अनुसारको काम नभएपछि न्यौपानेले यस्तो अभिव्यक्ति सार्वजनिक गर्नु भएको हो । हुन त स्थानीय निर्वाचनको परिणाम सार्वजनिक भएसँगै सो पार्टीभित्र एमालेसँग मिल्नु पर्ने आवाज उठन थालेको हो । पहिले कार्यकर्ताको स्तरबाट मात्र उठेको आवाज अहिले भने नेताहरूले नै उठाउन थाल्नु भएको हो ।

नेकपा (माओवादी केन्द्र) भन्दा एमालेसंगैको एकता सहज र प्रभावकारी हुने सो पार्टीका अन्य नेताले पनि बताउने गर्नु भएको छ । ‘आफूलाई अहिले पनि एमाले नै हुँ जस्तो लाग्छ ’ भन्ने सो पार्टीकी नेतृको केही अघि सार्वजनिक भएको भनाईले पनि नेतृत्वमाथि परेको दवावका रुपमा बुझ्न सकिन्छ ।

सत्ता गठबन्धनभित्र भन्दा बरु त्यो तालमेल एमालेसँगै अलि सम्मानजनक र सजातीय भातृत्वपूर्ण हुन्थ्यो होला भन्ने धारणा सुनिने गरेको पनि नेता गंगालाल तुलाधरले बताउनु भएको छ । एमालेसँगको सहकार्यको निम्ति आत्मालोचना लगायतका विभिन्न कुराहरू स्वीकार गर्नुपर्ने एकीकृत समाजवादीका नेता झलनाथ खनालले एक अन्तर्वार्ताका क्रममा बताउनु भएको छ ।

एकीकृत समाजवादीको केहीअघि बसेको केन्द्रीय समितिको बैठकमा एमालेसंग तल्लो तहमा तालमेल गर्न सकिन्थ्यो यसमा नेतृत्वले पूर्वाग्रही दृष्टिकोण राखेको भन्दै केन्द्रीय सदस्यले आलोचना गरेको कुरा सार्वजनिक भएको थियो । कार्यकर्ताको व्यपक दवाव र सम्मानित नेता झलनाथ खनालसमेतको धारणालाई बेवास्ता गर्दै अध्यक्ष माधव नेपाल भने काँग्रेससंगै गठबन्धन बनाएर जाने मुडमा देखिनु भएको छ ।

नाम नलेख्ने शर्तमा सो एक नेताले भने ‘उहाँ (माधव नेपाल) कताबाट सञ्चालित हुनुहुन्छ बुझ्न सकिएको छैन । यस्तै चालको भने अब उहाँसंग धेरै दिन हिड्न सकिन्न ।’ एमाले अध्यक्षले अपमान गरेको आरोप लगाउने माधव नेपाल काँग्रेस नेताले सार्वजनिरूपमै छुद्र वचन लगाउँदा पनि किन उतै टाँसिन खोज्नु हुन्छ बुझ्न नसकिएको ती नेताले बताए ।