जनताको आँखामा छारो हाल्दै व्यापार बढाउँदै
काठमाडौं, १५ असार । नेपालको कानूनले सुर्ती उद्योगलाई संस्थागत सामाजिक उत्तरदायित्वको नाममा कुनै पनि प्रकारको गतिविधि गर्न छुट दिएको छैन । तर फितलो राज्य प्रशासनका अगाडी सुर्ती उद्योगहरुले डन शैलीमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ । ऐन नियमलाई कुल्चेर हिडेका सुर्ति उद्योगीलाई स्वयं सरकारी अधिकारीहरुले विशिष्ट सम्मानका साथ रातो कार्पेटमा स्वागत गर्ने गरेका छन् ।
नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट बार्षिक २७ हजार बढीले ज्यान गुमाउने गरेका छन् । त्यसबाट लाग्ने दीर्घ रोगको उपचारका लागि अर्बौ खर्च भइरहेको छ । तर, केही करोड रकम राजश्व तिरेको भरमा सरकारी अधिकारीले कानून विपरितका गतिविधि गर्दै आएका उद्योगका धन्दालाई प्रसय दिँदै आएका छन् ।

के छ नियम ? कस्ता छन गतिविधि ?
सरकारले बनाएको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को परिच्छेद ३ को दफा २२ ले सुर्र्ती उद्योगले संस्थागत सामाजिक उत्तरदायित्वका नाममा कुनै पनि प्रकारको काम गर्न नपाउने व्यवस्था गरेको छ । सोही दफाको उपदफा १ मा सरकारी वा गैरसरकारी वा निजी क्षेत्रबाट संचालित शिक्षण संस्था, मदरसा, नाट्यशाला, धार्मिक प्रवचन, सत्सङ्ग, स्वास्थ्य संस्था आदिलाई आर्थिक, प्राविधिक, भौतिक, संरचनागत तथा अन्य कुनै पनि प्रकारको सहयोग उत्पादकलगायतले प्रदान गर्न पाउने छैन भन्ने उल्लेख गरेको छ तर ति नियम ठूला सुर्र्ती उद्योगको गतिविधि नियन्त्रण गर्न पर्ने बेलामा क्रियाशिल हुँदैनन । त्यसको उदाहरण लिन सकिन्छ सूर्य नेपालको गतिविधि ।
नेपालको सुर्तीजन्य पदार्थको व्यापारमा एकछत्र राज गरेको उद्योग हो । तर उसले यी व्यवस्था कुल्चेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र खेलकुदका क्षेत्रमा संलग्न भइरहेको छ । समाज र समग्र देशको लागि आफ्नो तर्फबाट योगदान गरिरहेको झुटो दावी गर्दै आईरहेको छ ।
सुर्ती नियन्त्रण सम्वन्धी अभियानमा क्रियाशिल संस्था एक्सन नेपालले गरेको पछिल्लो अनुसन्धानले सूर्य नेपालले आफ्नो व्यापार प्रवर्धनका लागि सरकारी अधिकारीलाई प्रभावमा पार्ने र आम सर्वसाधारणलाई भ्रममा पार्ने गतिविधि गर्दै आएको छ । उसले कानून विपरित सामाजिक उत्तरदायित्वको नाममा आफ्नो ब्राण्डलाई थप स्थापित गर्ने काम गरेको छ । केही गैरसरकारी संस्था, आमा समूह र युवा क्लवमार्फत पनि कानून विपरितका गतिविधिहरु गर्दै आएको छ ।

अनुसन्धान गर्दा के कस्तो देखियो ?
एक्सन नेपालले गरेको अनुसन्धान प्रतिवेदनमा भनिएको छ, शैक्षिक तथा सामुदायिक स–शक्तिकरण भन्दै समाजका विपन्न वर्गका सदस्यलाई शिक्षा प्रदान गर्ने, व्यवसायिक तालिमको माध्यमबाट महिला स–शक्तिकरण र आम्दानीका स्रोतहरु सृजना गर्न सहयोग गर्ने नाममा सुर्य नेपाल प्रा.लि. ले विशेषगरि महिला, बालबालिका र युवाहरुमाझ आफ्नो ब्राण्ड प्रवर्धन गर्दैआईरहेको छ ।
जुन सरासर सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेका कानुनको ठाडो उल्लंघन हो । यस्तै सूर्य नेपालले अहिले पर्सा र तनहुँका केही सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्ने भन्दै एक गैरसरकारी संस्था “टिच फर नेपाल” सँग साझेदारीमा काम गर्दै आईरहेको छ । जुन कानुन विपरित रहेको छ । तर सत्य यो हो की सुर्ती उद्योगले समाजमा रहेको आफ्नो नकारात्मक छवि सुधार्न यस्ता कृयाकलापहरु गर्ने गर्दछ ।
साथै यस्ता गतिविधिहरुले सूर्ति उद्योगलाई महिला, बालबालिका तथा पुरुषहरुमाझ सहजै पहुच पुग्न सजिलो हुँने र उनीहरुलाई सूर्तिजन्य पदार्थ उत्पादकहरुको आनिबानी उपभोक्ता हुन प्रभाव पार्दछ । यस्तै सामुदायिक स्वास्थ्य प्रवद्र्धन गर्ने भन्दै निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने, आँखा दान शिविर संचालन गर्ने, स्वास्थ्य सामग्रीहरु दान गर्ने, स्वास्थ्य संरचना तयार पार्न आर्थिक तथा भौतिक सहयोग प्रदान गर्ने ईत्यादी लाई सुर्य नेपाल सु–स्वास्थ्य रणनीति अन्तर्गत कानुन विपरित काम गदै आईरहेको छ ।
स्वास्थ्य क्षेत्रमा विभिन्न प्रकारका आर्थिक तथा भौतिक सहयोग प्रदान गरि जनताको स्वास्थ्य प्रवद्र्धन गर्नमा सूर्ति उद्योगले सरकारको सहयोगीको रुपमा आफुलाई प्रस्तुत गर्दै आईरहेको छ । तर वास्तवमा यस्ता सूर्तिजन्य पदार्थले आफ्ना आधा प्रयोगकर्ताहरुलाई मार्छ र यस्ता पदार्थहरु विभिन्न नसर्ने रोगको प्रमुख कारक तत्वको रुपमा मानिन्छन । मुटु, क्यान्सर, दम, मधुमेह, मिर्गौला, लगायतका नसर्ने रोगका प्रमुख कारक सुर्तीजन्य पदार्थ नै हो ।
सूर्तिजन्य पदार्थ नियन्त्रण गर्ने कानुनले सूर्ति उद्योगलाई कुनै पनि प्रकारको कार्यक्रम तथा प्रतियोगिता संचालन तथा प्राययोजन गर्न बाट रोक लगाएको छ । तर सूर्य नेपालले आफुले खेलकुद प्रायोजन मार्फत देशको खेल, पर्यटन विकासमा टेवा पूर्याएको गलत दावी गर्दै आईरहेको छ । अहिले पनि सूर्य नेपालको नाममा काठमाडौं, पोखरा र धरान जिल्लाहरुमा गल्फ प्रतियोगिता प्रायोजन तथा संचालन गर्दै आईरहेको छ ।
यसरी खेलकुद प्रायोजन भनेको सुर्र्ती उद्योगद्धारा प्रयोग गरिने दीर्घकालिन तथा अप्रत्यक्ष विज्ञापन मात्र हो । झन यस्ता प्रायोजनहरुले गर्दा युवापुस्ता माझ सूर्तिजन्य पदार्थको प्रयोग बढाई सूर्ति उद्योगले आफ्नो नाफा बढाउने एक अप्रत्यक्ष रणनीति मात्र हुन् । एक्सन नेपालको प्रतिवेदनम सूर्य नेपालको अर्को गैरकानूनी काम बाताबरण क्षेत्रमा गर्दै आएको छ । हरियाली तथा बृक्षारोपण गरी आफू समाजका लागि जिम्मेवार संस्थाको रुपमा काम गरेको देखाउने प्रयास गरेको छ ।
तर यस्ता उद्योग आफैमा वातावरणको लागि ठुलो खतरा हो । उदाहरणका लागि ४।५ ट्रिलियन सिगरेटहरका ठुटा (वट) हरुले विश्वभर १.७९ विलीयन पाउन्ड विषाक्त फोहोर गर्दछ भने अर्कोतिर हजारौ रसायनहरु हावा, पानी र माटोमा छोड्छ भन्ने डव्लुएचओ को अध्ययनले देखाँउछ । त्यसो त एक्सन नेपालको अनुसन्धानले कोभिड–१९ महामारीको बेलामा समेत सूर्य नेपालले कानून विपरितका गतिविधिलाई बढावा दिएको भेटाएको छ ।
उसले ठूला सरकारी अस्पतालमा मेडिकल सामग्री र उपकरण उपलव्ध गराउने देखि प्रदेशका कोरोना कोषका लागि भन्दै करोडौँ रुपैयाँ नगद हस्तान्तरण गर्ने काम गरेको छ । सामाजिक उत्तरदायित्वको नाममा बाँढिने यस्ता बस्तु तथा नगदहरु न अस्पतालले न जनप्रतिनिधिहरुले लिन मिल्छ । तर भईरहेको छ यस्तै । यता सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अनुसार बनेका निर्देशिकाहरुमा स्पष्ट व्यवस्था हुँदाहुँदै राज्यले त्यस विरुद्धका गतिविधि सञ्चालन गर्न दिनुले उनीहरुको भूमिकामा ठूलो प्रश्न उठाईदिएको छ ।

सुझावहरू
१. सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने कानुनहरुको प्रभावकारी कार्यान्वयन गर्दै सूर्ति उद्योगका सबै प्रकारका CSR गतिबिधिहरुमा रोक लगाउने र कानुनको उल्लंघन गरेमा जरिवाना लगाउने ।
२. Industrial Enterprises Act 2020 (औद्योगिक व्यवसाय ऐन) द्धारा उद्योगले CSR गतिविधिहरु सम्बन्धि आफ्नो वार्षिक नाफाबाट अनिवार्य १ प्रतिशत खर्च गर्नु पर्ने व्यवस्था, सूर्ति उद्योगलाइ लागु नहुने व्यवस्था गर्ने किन भने सूर्ति उद्योग र अन्य उद्योगलाई एउटै बास्केटमा राखि हेर्न मिल्दैन । सूर्ति उद्योगले मानिसको ज्यान लिने पदार्थ उत्पादन गर्छ ।
३. भुकम्प र काभिड–१९ महामारी जस्ता प्राकृतिक विपतका बेला सूर्तिजन्य उद्योगबाट आर्थिक चन्दा, स्वास्थ्य सामग्री र अन्य किसिमको सहयोग लिनुको सट्टा सूर्तिजन्य पदार्थमा लाग्ने करको दर बढाउनु सान्दर्भिक देखिन्छ । नेपालले दक्षिण एशियाका देशहरुको तुलनामा अत्यन्त कम कर लगाउदै आईरहेको छ ।
४. Tobacco Industry ले CSR गतिविधिहरु संचालन गर्न मुख्यरुपमा सरकारी संस्थाहरु र पदाधिकारीहरुलाई लक्षित गर्ने भएकाले सबै ७५३ स्थानिय तहका सरकारी अधिकारीहरु लगायत अन्य सरोकारवालाहरुको सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने कानुन सम्बन्धि क्षमता अभिबृद्धि गरि त्यस्ता गतिविधि स्वीकार नगर्न जागरुप बनाउने ।













प्रतिक्रिया दिनुहोस्