काठमाडौं, साउन १७ । नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तत्काल अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।
बारका पदाधिकारी टोलीले आज सिंहदरवारस्थित सभामुखको कार्यकक्षमै सापकोटालाई भेटेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग अघि बढाउन आग्रह गरेको हो ।
संघीय संसदमा विचाराधीन रहेको जबराविरुद्धको महाअभियोग प्रस्ताव लामो समयसम्म अघि नबढेपछि बार टोली सिंहदरवार पुगेको हो । बारकी महासचिव अञ्जिता खनालले चालु अधिवेशनबाट नै प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगको छिनोफानो गर्ने गरी प्रक्रियाअघि बढाउन माग गर्न बारको टोली सभामुख सापकोटासमक्ष पुगेको जानकारी दिनुभयो ।
जबराविरुद्ध सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले गत फागुन १ गते संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए भने फागुन २३ गते प्रतिनिधिसभा बैठकले महाअभियोग सिफारिस समिति बनाएको थियो । तर, अहिलेसम्म संसदले सो महाअभियोग प्रस्तावका बारेमा थप कुनै कारबाही प्रक्रिया बढाएको छैन । महाअभियोग प्रस्ताव भएलगत्तै प्रधानन्यायाधीश राणा ४ महिनादेखि निलम्बनको अवस्थामा हुनुहुन्छ ।
नेपाल बारले सभामुख भेटेरै तत्काल महाअभियोग अघि बढाउन दवाव दिएपछि सत्तारुढ गठबन्धन र सभामुखले महाअभियोगलाई न्यायालय तर्साउने हतियारको रुपमा प्रयोग गरेको तथ्य उजागर भएको छ । बारकोआजको बदमसँगै चोलेन्द्र महाअभियोग प्रकरणमा गठबन्धन र सभामुखले संबिधानकै हुर्मत लिएको तथ्य पनि बाहिर आएको छ ।
प्रतिक्रिया दिनुहोस्