जनता टाइम्स

१६ श्रावण २०७९, सोमबार २०:२४

यो कस्तो प्राणी हो, जसले पुनर्जन्म लिन्छ !


एजेन्सी । आजकल वैज्ञानिकहरुको नजर यस्तो जीवमा छ, जो मरेपछि फेरि जन्मन्छ भन्ने गरिन्छ । मेक्सिकन एक्सोलटल नामक यो जीव मेक्सिकोको तालमा पाइन्छ।

पानीबाहेक यो जमिनमा पनि बस्न सक्छ। यो छेपारो जस्तो प्राणी आफ्नो अङ्गहरू नष्ट भइसके पनि पुनः उत्पन्न गर्ने असाधारण क्षमताको लागि परिचित छ। यो जीवको कुनै अंगको अंश नभएको खण्डमा एक साताभित्रै त्यो अंगलाई हड्डी, नसा र मासुसहित त्यही ठाउँमा फेरि बढ्न थाल्ने देखिएको छ ।

एक्सोलोटलमा आफ्नो मेरुदण्डमा लागेको चोटलाई मर्मत गर्ने क्षमता पनि रहेको र यदि भाँचिएको छैन भने यसले सामान्य रूपमा काम गरिरहने वैज्ञानिकहरू बताउँछन्। यसले अन्य तन्तुहरूलाई पनि निको पार्न सक्छ, निको भएका त्यस्ता अंगमा दाग पनि देखिदैनन् ।

यो जीव पनि लोप हुने खतरामा छ, यद्यपि यो जीवले सजिलै प्रजनन गर्न सक्ने वैज्ञानिकहरूको विश्वास छ । यही कारण हो लगभग १५० वर्षदेखि, वैज्ञानिकहरू प्रयोगशालामा यस जीवलाई सुधार गर्न र यसको असाधारण जैविक कार्यहरू पत्ता लगाउन काम गरिरहेका छन्।

वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय टोलीले एक्सोलोटलको अर्को रहस्य पत्ता लगाएक छन् । यस जीवमा मानिसभन्दा ठूलो जीनोम समूह फेला परेको छ। यस जीवमा ३२ हजार मिलियन बेस जोडी डीएनए छ, जुन मानिसको तुलनामा दश गुणा बढी हो ।

नेचर जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार, ‘अंगको पुनरुत्थानको गहिराइमा अध्ययन गर्नेहरूका लागि यो खोज महत्त्वपूर्ण साबित हुनेछ।’ भियनाको मोलेक्युलर प्याथोलोजी अनुसन्धान संस्थानका डा एली तानाका प्रयोगशालामा एक्सोलोटल्सको संख्या बढाउने काम गरिरहेका छन् ।

वैज्ञानिकहरूले अंगहरूको पुनरुत्थान प्रक्रियाको लागि मुख्य कोशिकाहरू पहिचान गरेका छन् । तर पुनर्जन्मको प्रक्रियालाई विस्तृत रूपमा बुझ्नको लागि, अनुसन्धानकर्ताहरूलाई यस उभयचर जीवको जीनोमसँग सम्बन्धित जानकारी चाहिन्छ ।

यस जीवको जीनोम संख्या ३२ हजार मिलियन जोडी भएकाले अहिलेसम्म यो सम्भव भएको छैन ।