जनता टाइम्स

१८ श्रावण २०७९, बुधबार १९:१४

श्रीमती भान्छे राखेको सूचना चुहाएको आरोपमा कर्मचारी हटाउने चलखेल


काठमाडौं, १८ साउन । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले आफ्नै श्रीमतीलाई भान्से नियुक्त गरेको सुचना चुहाएको भन्दै प्रशासकीय अधिकृत रामबहादुर भण्डारीलाई हटाउने चलखेल सुरु भएको छ । पालिका अध्यक्षले श्रीमती जयसरा साउँदलाई जेष्ठ १५ गतेदेखि लागु हुने गरि मासिक २१ हजार तलब पाउने उक्त पदमा नियुक्त गर्नुभएको थियो ।

करार सेवामा अध्यक्ष साउँदले ६ महिनाका लागि आफ्नै श्रीमतीलाई जागिर दिएको भन्दै आलोचना समेत भएको छ । तर यस सुचना बाहिर आएपछि मंगलबार मात्रै कांग्रेसका नेता तथा कार्यकर्ताले गृह मन्त्रालयमा आएर उक्त अधिकृतलाई हटाउन आग्रह गरेको स्रोतले बतायो ।

प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने कानुन अनुसार नै उहाँलाई उक्त पदमा नियुक्त गरिएको र पालिका निवासी भरत बहादुर साउदले उक्त सूचना माग गरेपछि उक्त सूचना दिनु आफ्नो कर्तव्य भएको बताउनुभयो । सामान्य विषयलाई ठुलो बनाएर अहिले भण्डारीलाई नै हटाउने चलखेल सुरु भएको छ ।