जनता टाइम्स

१९ श्रावण २०७९, बिहीबार १६:०८

चुनावका मुखमा काँग्रेस नेता निधिको फण्डा, भारतीय नेता भेटेर विकासको कुरा गरेको प्रचार


नयाँदिल्ली, १९ साउन । पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि अहिले भारत भ्रमणमा छन् । अघिल्लो निर्वाचनमा राजेन्द्र महतोसँग नराम्ररी पछारिनु भएका उहालाईँ यसपटक यसपटक जित्नै पर्ने दवाव छ । उहाँले भारतका सडक परिवहन मन्त्री नितिन गडकरीसंग आफ्नै निर्वाचन क्षेको भौतिक पूर्वाधार निर्माणका बिषयमा छलफल गरेको प्रचार गरिएको छ ।

सडक परिवहन मन्त्री गडकरीको निवासमा बुधबार राति भएको आधा घण्टा लामो छलफलमा कांग्रेस नेता निधिले भारत सरकारले निर्माण कार्य अघि बढाएको अयोध्या–भिठ्ठाभोड चार लेन सडक, भारतको मधुवनी जिल्लाको गिरिजास्थान (फूलहर) हुँदै नेपालको जटही सीमासम्म थपेर निर्माण गर्न आग्रह गर्नु भएको बताइउको छ । जटही उहाँको गृहनगर पनि हो ।

निधिको आग्रहपछि मन्त्री गडकरीले तत्कालै मन्त्रालय र सडक बिभागका अधिकारीहरुलाई टेलिफोन गरेर जटही सीमासम्म थप सडक निर्माणलाई मन्त्रालयको कार्यक्रममा राख्न निर्देशन दिनु भएको बताइएको छ । जटही–जनकपुर–ढल्केवर ६ लेनको सडक निधि भौतिक पूर्वाधार मन्त्री भएकै बेला सम्पन्न भएको थियो ।

यसैगरी, कलकत्ता बन्दरगाहदेखि दरभंगा हुँदै नेपालको जटही सीमासम्म बैकल्पिक अन्तर्राष्ट्रिय व्यापारिक मार्ग निर्माण गर्न पनि निधिले मन्त्री गडकरीसँग आग्रह गर्नु भएको उहाँका निकटवर्ती बताउँछन् ।

यसैबीच, मन्त्री गडकरीकै निवासमा नेता निधि र भारतका जलशक्ति मन्त्री गजेन्द्र सिंह सेखावतबीच भेटघाट भएको भनिएको छ । भेटमा दुबै देशको सडक, जलस्रोत, उर्जा विकास तथा बाढी नियन्त्रण लगायतका बिषयमा छलफल बताइन्छ ।

मन्त्री गडगरी र सेखावतसँगको भेटमा निधिसहित भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा पनि सहभागी हुनुहुन्थ्यो । त्यस अबसरमा राजदूत शर्माले लाइन अफ क्रेडिट र नेपालको भौतिक पूर्वाधार निर्माणमा प्राबिधिक सहयोग उपलब्ध गराउने बिषय अगाडि सार्नु भएको भनिएको छ ।

निधि मधेश प्रदेशबाट काँग्रेसमा गनिएका राष्ट्रियस्तरका नेता हुनु भए पनि आफ्नो निर्वाचन क्षेत्रभन्दामाथि उठन नसकेको काँग्रेसकै स्थानीय नेताहरू बताउने गर्छन् । त्यसैले काँग्रेसको आन्तरिक निर्वाचनमा जनकपुरबाहेक नेता निधिको प्रभाव अन्य जिल्लामा देखिएन । प्रदेशमा त उहाँको टिम नरामम्ररी पराजित नै भएको थियो ।