काठमाडौं, साउन २० । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबिरुद्ध जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले चुनाव लडने घोषणा गर्नुभएको छ ।
आगामी मंसीर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा राउत जसपाका अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्न लाग्नुभएको हो । जनमत पार्टीका नेता बीपी साहका अनुसार राउतले आज यस्तो निर्णय सुनाउनु भएको हो । ‘अध्यक्षजी कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने विषयमा हिजोसम्म छलफल भएको थिएन । आज उहाँले सप्तरी क्षेत्र नम्बर २ बाट लड्ने बताउनुभयो,’ साहले भन्नुभयो ।
सप्तरी क्षेत्र नम्बर २ बाट जसपा अध्यक्ष यादव गत निर्वाचनमा विजयी हुनुभएको थियो । सोही क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष डा. राउतले चुनाव लड्ने घोषणा गर्नुभएको छ । मधेसको नाममा लामो समय शासन गर्दै आउनुभएका यादवसँगै प्रतिस्पर्धा गर्ने निश्कर्षमा राउत पुग्नुभएको हो ।
राउतको दलले स्थानीय तह निर्वाचनमा सप्तरीमा दुई पालिका हनुमाननगर कंकालनी र बलान विहुल गाउँपालिका जितेको छ । सप्तरी क्षेत्र नम्बर २ बाट अहिलेसम्म दुई पटक लगातार कुनै पनि उम्मेदवारले जितेको इतिहास छैन । जसपा अध्यक्ष यादव पनि जितेर केही राम्रो काम गर्न नसकेको निश्कर्षका आधारमा राउतले सो क्षेत्र रोज्नुभएको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्