जनता टाइम्स

२० श्रावण २०७९, शुक्रबार १३:४६

गठबन्धनबिना एमालेसँग जित्न नसकिने गठबन्धनको निश्कर्ष, सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल


काठमाडौं, साउन २० । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी चुनावमा नेकपा एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न नसकिने निश्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले एक्लाएक्लै चुनावमा गए एमालेको जीत निश्चित रहेको भन्दै पाँच दलीय गठबन्धन गरेर जाने निर्णयसहित चुनावी सिट बाँडफाँटका लागि कार्यदल बनाएको छ । कार्यदलमा नेपाली कांग्रेसबाट तीन र अन्य दलबाट दुई–दुई जना सदस्य राखिएको छ ।

कांग्रेसबाट महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहनु भएको छ । यस्तै नेकपा माओवादी केन्द्रबाट नेता वर्षमान पुन र अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल रहनुभएको छ । यसैगरी जनता समाजवादी पार्टी (जसपा) बाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहनु भएको छ ।

कार्यदलले साउन मसान्तभित्र सबै निर्वाचन क्षेत्रको तथ्य आँकलन गरी सीट बाँडफाँटको मोडालिटीसहितको सुझाव पेस गर्ने म्याण्डेट पाएको छ । आजको बैठकमा एक्लाएक्लै गए अदालतको परमादेशमार्फत आफूहरुको हातमा लिएको सत्ता जनादेशमार्फत पुन एमालेको हातमा जाने भन्दै त्यस्तो मुर्खता गर्न नहुने निश्कर्ष पनि निकालेको एक सदस्यले बताए ।