जनता टाइम्स

२० श्रावण २०७९, शुक्रबार १६:२७

शेरबहादुरको गन्तव्य म्याडम साहेव, प्रचण्डको गन्तव्य सुपुत्री : ओली


काठमाडौं, साउन २० । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको पाँचदलीय गठबन्धनका नेताहरूको अन्तिम गन्तब्यबारे मुख खोल्नुभएको छ । गठबन्धनका नेतासँग कुनै गन्तव्य नभएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवादेखि माधव नेपालसम्मको अन्तिम गन्तब्य के रहेको छ भन्ने ओलीले बताउनु भएको हो ।

उहाँले सबैको व्यक्तिगत स्वार्थ मात्र रहेको बताउनु भयो । ‘अहिलेका नेताको कुनै गन्तव्य छैन । मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं । उनको जिन्दगी छटपटीमै बित्छ । करबटे बदल्ते रहे सारे रात हम जस्तो छ । गन्तव्य केही पनि छैन,’ ओलीले भन्नुभयो ।

उहाँले पाँच वर्ष यो गठबन्धनले सरकार चलाउने भने देश ध्वस्त हुने ठोकुवा पनि गर्नुभयो । इतिहासमै अहिले जस्तो राज्यसंयन्त्रको दुरुपयोग कहिले नभएको पनि ओलीले बताउनु भयो ।

‘राज्यसत्ताको यो भन्दा नग्न दुरुपयोग कहिले भएको थिएन । महान्यायाधिवक्ताको कामै मान्छे मार्नेको जाहेरी नलिन दबाब दिने गरेका छन् । कति सारो खेलवाड ?’ ओलीले भन्नुभयो ।