जनता टाइम्स

२० श्रावण २०७९, शुक्रबार १७:०७

विपरीत सिद्धान्तकाबीचको गठबन्धन संविधानको उल्लंघन : भीम रावल


काठमाडौं, साउन २०। नेकपा( एमाले) का नेता भीम रावलले विपरीत सिद्धान्त, नीति र विचारकाबीच तालमेल वा गठबन्धन गर्नु संविधान विपरित भएको बताउनु भएको छ । उहाँले भन्नुभयो ‘विपरीत सिद्धान्तबीच गठबन्धन गर्नु संविधानको धारा २६९ को उल्लंघन हो ।’

नेपालको संविधान २०७२ को राजनीतिक दलसम्वन्धि व्यवस्था अन्तर्गतको धारा २६९ मा राजनीतिक दलको गठन, दर्ता र सञ्चालन वारे उल्लेख छ सो धाराको उपधारा (१) मा ‘समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिवद्ध व्यक्तिहरूको धारा १७ को उपधारा (२) को खण्ड (ग) अन्तर्गत बनेको कानूनको अधिनमा रही राजनीतिक दल गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचार र प्रसार गर्न, गराउन वा सो प्रयोजनका लागि अन्य आवश्यक काम गर्न सक्नेछन्’ भन्ने उल्लेख छ ।

निर्वाचनमा राजनीतिक दलले आफ्नो नीति, विचार र सिद्धान्तको प्रचार–प्रसार गरेर भोट माग्ने र बहुमत ल्याएर सोही नीति, विचार र सिद्धान्तको कार्यान्वयन गर्ने हो । तर, विपरीत सिद्धान्तकाबीचको गठबन्धन र तालमेल गन्तव्यहीन यात्रा भएको उहाँको भनाई थियो । यस्तो गठबन्धन वा तालमेल सत्ताको कुर्सी केन्द्रित मात्र भएको उहाँ आरोप छ ।

यस्ताखाले गठबन्धनले बहुमत ल्याइहाले पनि मुलुकलाई आदर्शहीन, गन्तव्यहीन दिशातर्फ धकेल्ने नेता रावलले बताउँनुभयो । निर्वाचनमा दाहरूले आ–आफ्नो सिद्धान्तअनुसारको घोषणापत्र बनाउने र सो घोषणापत्र अगाडि राखेर मत माग्नु पर्ने लोकतन्त्रको स्थापित मान्यता पनि भएको उहाँको भनाई थियो ।

बहुरंगी सिद्धान्तकाबीचको गठबन्धन नेपाली जनतालाई झुक्याउने चालवाजी मात्र भएकाले नेकपा (एमाले) ले यस्तो गल्ती नगर्ने बताउँनुभयो । एमालेले विपरीत सिद्धान्तकाबीच गठबन्धन नगर्ने उहाँले दावी गर्नुभयो ।