जनता टाइम्स

२१ श्रावण २०७९, शनिबार १३:२६

झापाली एमालेलाई अध्यक्ष ओलीले दिए टास्क


काठमाडौं, साउन २१ । साउनको ११ देखि १४ गतेसम्म गृहजिल्ला झापामा बस्दा अध्यक्ष केपी शर्मा ओलीले हजारौं मानिसहरुलाई व्यक्तिगत रुपमै भेटघाट गर्नुभयो । अध्यक्ष ओलीसँग २०७४ साल देखि नै भेटघाट गर्न चाहेका कतिपय कार्यकर्ताले यस पटक धित मर्नेगरी भेटे । कुरा गरे । फोटो खिचे । अध्यक्ष ओलीले पनि उनीहरुका कुरा मसिनो गरी सुन्नुभयो ।

चारदिन गृह जिल्ला त्यसमा पनि खासगरी आफ्नो निर्वाचन क्षेत्र ५ नं मा मुकाम खडा गरेर सबैका गुनासा,दुख र खुशी सुनेर काठमाडौ फर्केको हप्तादिन नबित्दै क्षेत्रका काठमाडौबासीहरुसँग भेटघाट गर्नुभयो । हिजो झण्डै दुई घण्टा दमक,कमल,गौरादह र गौरीगञ्जबाट काठमाडौं आएर बसेका मतदाताहरुसँग ओलीले राष्ट्रिय राजनीति,त्यसमा आफ्नो भूमिका,गाउँघरका कुरा,२०४८ सालयताका झापाका निर्वाचन र भर्खरै सकिएको स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी गर्नुभयो । अध्यक्ष ओलीको कार्यकर्तासँग भिज्ने पुरानै शैली हो । तर यो सघन भेटघाटले निर्वाचनको तयारी हो भन्ने अनुमान गर्न गाह्रो छैन ।

‘पार्टी निर्वाचन प्रचारको माहोलमा अघि बढेपछि उहाँले देश दौडाहामा निस्केपछि आफ्नो क्षेत्रका मतदातालाई समय मिलाउन अलि गाह्रो हुन्छ’ एमाले केन्द्रीय सम्पर्क समन्वय कमिटी सचिव इन्द्र भण्डारी भन्नुहुन्छ ‘त्यही भएर अहिले सबैसँग भेटघाटको समय मिलाइएको हो ।’

अध्यक्ष ओलीले हिजो आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय राजनीतिमा झापाली योगदानको पनि चर्चा गर्नुभयो । ‘२००८ साल काँग्रेसले कम्यूनिष्ट माथी प्रतिवन्द लगायो । २०१७ सालमा पञ्चायतले’ अध्यक्ष ओलीले भन्नुभयो ‘यही प्रतिवन्दका बीच २०२७/०२८ सालमा झापाली युवाहरुले मुक्तिका लागि नयाँ विद्रोेह गरेर सुरु गरेको कम्यूनिष्ट पार्टी आजको एमाले हो ।’

त्यसबेला को अर्डिनेस केन्द्र बनाउने युवाहरु मध्ये आफू पनि एक भएको स्मरण गर्दै अध्यक्ष ओली ५२ वर्ष देखि आफूले लोकतन्त्र,मानव अधिकार र जनअधिकारका लागि संघर्ष गरिरहेको बताउनुभयो । ‘लोकतन्त्रप्रति मेरो निष्ठामा कसै कसैले प्रश्न उठाएको सुन्छु’ अध्यक्ष ओलीले भन्नुभयो ‘मेरो विगत हेरे हुन्छ । लोकतन्त्र र स्वतन्त्रताको रक्षाको लागि मैले के के गरेको छु । ’

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा दमक नगरपालिका,कमल गाउँपालिका हार्नुको कारण फेरी पनि सोध्नु भएको छ । ‘दमक नगरपालिका,कमल गाउँपालिका एमालेले हार्ने ठाउँ हुन् ?’ अध्यक्ष ओलीले भन्नुभयो ‘गत निर्वाचनमा गौरादहले गरेको गल्ती यसपाली सच्यायो तर दमक कमलले नयाँ गल्ती गरे । ’

झापालीहरुले बेलाबखत गरेका गल्तीको फेहरिस्त पनि अध्यक्ष ओलीले सुनाउनुभयो । ‘२०५६ सालमा तत्कालिन क्षेत्र नं ६ र २ मा मैले चुनाव जितें । एउटा क्षेत्र छोड्नु पर्ने भएकोले ६ नं छोडें । उपचुनाव भयो । काँग्रेसलाई यहाँका जनताले जिताए’ अध्यक्ष ओलीले भन्नुभयो ‘त्यहाँका जनताले गल्ती गर्न त्यसबेला देखि सुरु गरे ।’

२०६४ सालको संविधानसभा चुनावमा संविधान बनाउने नेतृत्व गर्ने व्यक्तिलाई हराएर अर्को एउटा व्यक्तिलाई जिताएर झापालीले अर्को गल्ती गरेको अध्यक्ष ओलीको भनाइ छ । ‘चुनावपछि काठमाडौं आंए । जितेर आएका मान्छेका अनुहार हेरें ’ २०६४ साल सम्झदैं अध्यक्ष ओलीले भन्नुभयो ‘अनि मैले किटान गरेर भने यो संविधानसभाले संविधान बनाउदैन । नभन्दै भयो त्यस्तै । ’

२०७० सालको निर्वाचनमा तत्कालिन झापा ७ का जनता विगतको निर्वाचनमा आफूले गरेको गल्तीको प्रायश्चित गरे । २०६४ सालमा केपी ओलीलाई हराएर जितेका माओवादी साँसद विश्वदिप लिङदेन त्यसबेलासम्म जग्गा किर्ते,अवैध हतियार,लेनदेन मुद्धा आदिमा फसिसकेका थिए । त्यती मात्र होइन आफूलाई जिताउने माओवादी पार्टी छाडेर तेस्रो पार्टीमा पुगिसकेका थिए ।

‘२०७० सालको निर्वाचनमा झापा ५ का जनताले गल्ती सच्याए । संविधान बनाउन नेतृत् वगर्न सक्ने मान्छेलाई जिताएर पठाए’ अध्यक्ष ओलीले भन्नुभयो ‘त्यसबेला जितेर आएका मान्छेको अनुहार हेरेपछि मैले फेरी भने यसपाली संविधान बन्छ । सभासद्धहरुले संविधान बनाउन सकिएन भनेर शिर निहुराउनु पर्दैन । भयो पनि त्यस्तै । ’

अध्यक्ष ओलीले झापाको निर्वाचन क्षेत्र नं ५ लाई विश्वले नै चासोपूर्वक हेरिरहेको बताउनुभयो । त्यसले गर्दा पार्टी नेता,कार्यकर्ता र मतदाताहरु चनाखो रहनु पर्ने उहाँको भनाइ छ । ‘हाम्रो क्षेत्रलाई विश्वले नै चासोपूर्वक हेरिरहेको छ । यहाँबाट प्रतिनिधित्व गर्ने व्यक्तिलाई सबैले हेरेका छन् । षडयन्त्रकारीहरु सलबलाउन सक्छन् ’ कार्यकर्ताहरुलाई निर्देशन दिंदै अध्यक्ष ओलीले भन्नुभयो ‘त्यसैले सानातिना कुराहरुमा ध्यान दिनुहोस ।’

विभिन्न कामको सिलशिलामा काठमाडौं आएर बसेका क्षेत्रबासीहरुलाई नियमित रुपमा आफ्ना गाउँघरमा सम्पर्क गर्न अध्यक्ष ओलीले निर्देशन दिनुभएको छ । ‘आफ्ना गाउँघरमा नियमित सम्पर्क गर्नुहोस । कसको गतिविधी के छ ध्यान दिनुहोस । जानकारी लिनुहोस । कोही भ्रममा छन् भने उनीहरुलाई सम्झाउनुहोस,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘काठमाडौंमा रहनेहरुले कम्तीमा १० जना मतदातालाई आफूले भनेको ठाउँमा मत हाल्ने हैसियत सबैले राख्नुहोस । ’