जनता टाइम्स

२१ श्रावण २०७९, शनिबार १५:०३

प्रतिनिधिसभाको कार्यसूचीमा पर्यो जबराविरुद्धको महाभियोग, यस्तो छ तयारी


काठमाडौं, साउन २१ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कडा आपत्ति जनाउनु थालेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने भएको छ । प्रतिनिधिसभाको आइतबारका लागि बोलाइएको बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगमाथि छलफल हुने भएको हो ।

संघीय संसदका महासचिव भरतराज गौतमले आइतबारका लागि जारी गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा प्रधानन्यायाधीश जवरामाथिको महाभियोग प्रस्तावमाथि छलफल हुने उल्लेख छ । ’मिति २०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने,’ शनिबार सार्वजनिक गरिएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा भनिएको छ ।

जवराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले गत फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा पर्नुभएको थियो । लामो समयसम्म महाअभियोगमाथिको छलफल अघि नबढाएपछि एमालेले कडा आपत्ति जनाउँदै आएको थियो ।

प्रतिनिधिसभाले फागुन २२ गते महाभियोग सिफारिस समिति गठन गरेपनि छलफल अगाडि बढ्न सकेको थिएन । महाभियोग सिफारिस समितिमा विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल, मिनबहादुर विक, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह सदस्य हुनुहुन्छ ।

महाभियोग लगाएर प्रधानन्यायाधीश जबरालाई निमल्बनमा राखेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले संसददेखि सार्वजनि स्थलमा विरोध गर्दै आएको थियो । त्यस्तै, नेपाल बार एसोसिएसनले पनि न्यायालयको प्रमुखमाथि महाभियोग लगाएर निलम्बनमा राखेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर प्रक्रिया अगाडि बढाउन आग्रह गरेको थियो । केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले गर्न नहुने सवै काम गर्न थालेको भन्दै कडा आपत्ति जनाउनु भएको थियो ।