जनता टाइम्स

२२ श्रावण २०७९, आईतवार १७:२८

यी घरज्वाईं ! जस्ले श्रीमती र सासुलाई मट्टितेल खन्याएर आगो लगाए


धनुषा, साउन २२ । महोत्तरीको भंगहा नगरपालिकामा ज्वाइँले सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएका छन् । भंगहा नगरपालिका–१ कञ्चजनवनमा आमाछोरीलाई मट्टितेल खन्याएर आगो लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार घरायसी विवादमा ज्वाइँले वृद्ध सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएका हुन ।

भंगहा नगरपालिका–१ कञ्चजनवनकी ६५ वर्षीया सासु रेसमादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदालाई ज्वाँई औरही नगरपालिका–८ का शंकर सदाले मट्टितेल खन्याएर आगो लगाएको बिष्टको भनाई छ ।

शनिबार मध्यराति मट्टितेल खन्याएर आगो लगाउँदा रेसमादेवी सदाको पिट्यु, पाखुरा र बायाँ खुट्टा जलेको छ भने प्रमिलादेवी सदाको हात, खुट्टा र छाती जलेको छ । प्रहरीका अनुसार शरीर जलेर घाइते भएका दुवै जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि काठमाडौं रेफर गरिएको छ ।  सासु र श्रीमतीलाई आगो लगाएर हत्या गर्न खोज्ने शंकर घटनापश्चात फरार छन । शंकर पछिल्लो एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए ।