जनता टाइम्स

२२ श्रावण २०७९, आईतवार १७:३६

सिफारिस समितिमा पठाइयो प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव


काठमाडौं, साउन २२ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइएको छ । प्रतिनिधिसभाको आजको बैठकको बहुमतले पारित गरी उक्त प्रस्तावलाई सिफारिस समितिमा पठाएको हो ।

सभामुख अग्नि सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाउन सिफारिस गर्नुभएको थियो । महाभियोग सिफारिस समितिमा विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल, मिनबहादुर विक, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह सदस्य हुनुहुन्छ ।

जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले गत फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा पर्नुभएको छ । महाअभियोग दर्ता गरेको ५ महिना २१ दिनपछि आज बल्ल छलफल गरी समितिमा पठाइएको हो ।

महाभियोगमाथि छलफलका क्रममा एमालेका सांसदहरूले लामो समयसम्म प्रस्तावमाथि छलफल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । सत्तापक्षका सांसदहरूले भने महाभियोग प्रस्तावमा सत्ता र प्रतिपक्ष हुन नहुने भन्दै पारित गर्नका लागि आग्रह गरेका थिए ।