जनता टाइम्स

२२ श्रावण २०७९, आईतवार १८:०४

कांग्रेस र माओवादी अब एकै भयो : अध्यक्ष ओली


ललितपुर, साउन २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार अलच्छिनाहा भएको बताउनुभएको छ । एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार आएपछि अर्थतन्त्र अस्तव्यस्त भएको बताउनुभयो ।

गठबन्धन आएपछि विकास निर्माण बन्द भएको, व्यापार घाटा बढेका, आयत बढेको, निर्यात ठप्प भएको ओलीले बताउनुभयो । ‘अहिले त यो सरकार, यो विनाशकारी सरकार हो’, ओलीले भन्नुभयो ।

उहाँले गठबन्धन आएपछि देशमा अलच्छिन नै अलच्छिन भित्रिएको बताउनुभयो । यस्तो विनाशक र अलच्छिनाले अझै देश चलायो भने के होला ? भन्दै ओलीले प्रश्न गर्नुभयो । आउने निर्वाचनमा देशलाई बरबाद हुनबाट जोगाउन आवश्यक रहेको उहाँले बताउनुभयो । ‘देश जोगाउनको लागि एमाले बाहेक अरू शक्ति छैन, एमालेले मात्र देश जोगाउन सक्छ, त्यस कारण एमालेले नै आगामी सरकार बनाउनु पर्छ’, ओलीले भन्नुभयो ।

देशलाई विनाश हुनबाट जोगाउन आगामी निर्वाचन एमालेले जित्नै पर्ने उहाँले बताउनुभयो । यसको लागि जनतालाई एमाले हाम्रो पार्टी हो भन्ने कुरा बुझाउन उहाँले नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले अहिले कांग्रेस कांग्रेस र माओवादी माओवादी नभएको बताउनुभयो । कांग्रेस र माओवादी अब एकै भएको उहाँले दाबी गर्नुभयो ।