जनता टाइम्स

२३ श्रावण २०७९, सोमबार ०८:१४

केन्द्रीय सदस्य राईले छाडे बाबुराम भट्टराईको साथ


खोटाङ, साउन २३ । वैकल्पिक शिक्षाको अभियान्ता सुर्यबहादुर राईले डा. बाबुराम भट्टराईको साथ छाडनुभएको छ । भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेको केही समयपछि राईले सो पार्टीमा नरहेको स्पष्ट पार्नुभएको हो । भट्टराई निकट राई नवगठित नेपाल समाजवादी पार्टीमा आवद्ध हुने अनुमान गरिएको थियो ।

भट्टराई जसपाबाट अलग हुनु अगाडि राई जसपाका केन्द्रीय सदस्य हुनुभएको थियो । तर, उहाँले सामाजिक सञ्जालमार्फत नेपाल समाजवादी पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको स्पष्ट पार्नुभएको छ । भट्टराईको साथ छाडेपनि समावेसी, सुशासन र समृद्धिको लागि बैकल्पिक राजनितीको यात्रा भने जारी राख्ने राईले बताउनु भएको छ । राईले बैकल्पिक शक्तीको उदयका लागि नयाँ सोचका साथ देशव्यापी अभियान सञ्चालन भइरहेको प्रतिक्रिया दिनुभयो ।

‘नेपालको आर्थिक, सामाजिक अवस्था परिवर्तनको अभियानमा सामेल हुनुपर्छ भन्ने सोच आयो । यसै सोचका साथ उत्साहित भएर बैकल्पिक राजनीतिक यात्रा तय गरियो । यो यात्रामा बैकल्पिक राजनीतिको गन्तव्य ठिक ढंगले अगाडि बढेन । यस अभियानमा पनि बैचारिक तथा ब्यबहारिक बिचलन देखियो । बैकल्पिक सोच नै बिघटनको दिशातिर उन्मुख भयो,’ राईले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘तर, मुलुकमा बैकल्पिक राजनीतिको आबश्यकता झनै बढेर गएको छ । अब यसै विचार र मुद्धा कै आधारमा अगाडि बग्ने निष्कर्षमा पुगेँ । हाम्रा मुल मुद्धाहरु समाबेसी, सुशासन र समृद्धिको लागि बैकल्पिक राजनीति यात्राबाट कत्ति पनि बिचलित भएको छुइँन ।’

राईले कृषिविज्ञ मदन राईसँगको सहकार्यमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा शुभम फाउण्डेसनमार्फत व्यवहारिक शिक्षाको अभ्यास गर्दै आउनु भएको छ । कृषिविज्ञ राईले शनिबार नै डा. भट्टराईसँगको साथ छाडेको घोषणा गरिसक्नु भएको छ । यस्तै, जसपाका नेता मोहन गुरुङले पनि राजनैतिक एजेण्डा कायम राख्नेगरी स्वतन्त्र भएको घोषणा गर्नुभएको छ ।