जनता टाइम्स

८ श्रावण २०७६, बुधबार १५:५७

थाइल्याण्डको सैन्य शिवीरमा आक्रमण चारको मृत्यु


थाइल्याण्ड, साउन ८

थाइल्याण्डको दक्षिण भागमा पर्ने पत्तानी प्रान्तमा संदिग्ध मुसलमान आतङ्ककारी समूहले सैन्य शिवीरमा गरेको एक आक्रमणमा परी चार व्यक्तिको मृत्यु भएको छ । सरकार अधिकारीहरुले बुधबार उक्त जानकारी दिएका छन् । मंगलबार अबेर राती पत्तानी प्रान्तको दुर्गम इलाकामा रहेको स्थानमा विद्रोही समूहले ग्रेनाड र स्वचालित बन्दुकको प्रयोेग गरी आक्रमण गरेका सेनाका प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी दिनुभएको छ ।

मलय मुसुलमान समूदायको बाहुल्यता रहेको सुदुर दक्षिणमा पर्ने यस इलाकामा १५ वर्षयता जारी द्वन्द्वमा परी ७ हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । यस शिवीर आक्रमणमा सेनाको एक मेजर, दुई सुरक्षा स्वयंसेवी र एक गाउँलेको मृत्यु भएको सैनिक स्रोतले जानकारी दिएको छ । यस आक्रमणमा परी घाइते भएका दुई व्यक्तिलाई उपचारार्थ अस्पताल भर्ना गरिएको र ती दुबैको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।