जनता टाइम्स

२४ श्रावण २०७९, मंगलवार १४:५०

जो कमजोर हुन्छ, उसको लागि सहारा चाहिने हो : प्रदीप ज्ञवाली


काठमाडौं, साउन २४ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले विचारको बिचमा स्वच्छ प्रतिस्पर्धा गरेर जनताको बीचमा जनमतका लागि जानु पर्ने बताउनु भएको छ ।

आगामी निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेपछि उपमहासचिव ज्ञवालीले गठबन्धन असफल सावित भइसकेको भन्दै यस्तो बताउनु भएको हो ।

गठबन्धनको राजनीति देशको दीर्घकालीन हितमा नहुने ज्ञवालीले बताउनुभयो । ‘दीर्घकालीन रूपमा यो लोकतन्त्रको लागि स्वास्थ्यकर होइन, गठबन्धन गर्दा कसको विचार लागु गर्नु ?’ निर्वाचनमा आयोगमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि दल दर्ता गराउन पुग्नुभएका ज्ञवालीले भन्नुभयो ।

गठबन्धनका कुन चाहिँ पार्टीको बिचारलाई हेरेर जनताले भोट दिने भन्ने प्रश्न उठ्ने ज्ञवालीको भनाई छ । यसले जनताको स्वतन्त्र छनोट गर्ने अधिकारलाई कुण्ठित गर्ने ज्ञवालीले बताउनुभयो । तर पनि त्यो गठबन्धनका दलको स्वतन्त्रताको कुरा भएको उहाँ प्रष्ट पार्नुभयो ।

एमाले चुनावमा जान कसैको सहारा लिनुपर्छ भन्ने पक्षमा नरहेको उहाँले बताउनुभयो । ‘जो कमजोर हुन्छ, उसको लागि सहारा चाहिने हो’, ज्ञवालीले भन्नुभयो ।

ज्ञवालीले एमाले एक्लै जनताको बीचमा जाने र जनताले बहुमत दिने विश्वास व्यक्त गर्नुभयो । तथापि एमालेसँग मिलेर जान चाहने दलसँग स्थानीय तहमा काहीँ कतै तालमेल भने हुनु सक्ने उहाँले बताउनुभयो । तर राष्ट्रिय स्तरमा गठबन्धन गरेर एमाले चुनावमा नजाने उहाँले प्रष्ट पार्नुभयो ।