जनता टाइम्स

२४ श्रावण २०७९, मंगलवार २०:३६

विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठ पुर्पक्षका लागि थुनामा


काठमाडौं, साउन २४ । क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा पक्राउ परेका विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उहाँलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

अदालतको आदेशपछि श्रेष्ठलाई कारागार चलान गरिएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई २९ असारमा पक्राउ गरेको थियो । तर अनुसन्धानका क्रममा श्रेष्ठको खातामा शंकास्पद कारोबार भएको भन्दै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसन्धान अनुसन्धान अघि बढाइएको थियो । उहाँको वेल्स बैंक अफ अष्ट्रेलियामा रहेको खातामा एक लाख ९४ हजार अमेरिकी डलर, रोयल बैंक अफ क्यानडामा १८ लाख ७४ हजार अमेरिकी डलर, शेयर कारोबार, नेपालमा एभरेष्ट बैंकको खाताबाट २ करोड ६ लाख र एनआईसी एसिया बैंकको खाताबाट ६५ लाख २४ हजार रुपैयाँको गरी विभिन्न कम्पनीमा शेयर लगानी रहेको पनि प्रहरीले जनाएको छ ।

साथै, नबिल बैंकमा क्यानेडियन डलर ६७ हजार ५९६ र नेपाली रुपैयाँ ६५ हजार रहेको देखिएको एसपी दिनेशराज मैनालीले बताउनुभयो । उहाँको पानीपोखरीमा अपार्टमेन्टसमेत गरी ४ लाख ४९ हजार अमेरिकी डलर बराबरको सम्पत्ति रहेको र त्यसको स्रोत नखुलेको प्रहरीको भनाइ थियो ।