जनता टाइम्स

२५ श्रावण २०७९, बुधबार १०:३०

फिल्म छायांकार विदुर पाण्डेको निधन


काठमाडौं, २५ साउन । छायांकार विदुर पाण्डेको हृदयघातले निधन भएको छ । चलचित्र प्राविधिक संघका अनुसार बिहान पौने ६ बजे गंगालाल अस्पतालमा उनको निधन भएको हो । घरमा असहज भएपछि उनलाई अस्पताल लगिएको थियो ।

उनको पार्थिव शरिरलाई अन्तिम संस्कारका लागि अहिले पशुपति आर्यघाट लगिएको छ । प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार अन्तिम श्रद्धान्जली दिन अहिले आर्यघाटमा फिल्मकर्मी र आफन्त उपस्थित छन् । चर्चित नेपाली फिल्महरु कागबेनी, स्वर र भुइँमान्छेमा छायांकारको रुपमा कार्य गरिसकेका पाण्डेले टेलिभिजनमा समेत काम गरेका छन् ।

फिल्म कागबेनीलाई पहिलो नेपाली डिजिटल फिल्म समेत मानिन्छ । हाम्रो टीम, क्वीज मेनिया, फूलको थुंगा, हिमालय फेसन एड्भेन्चरजस्ता टिभी कार्यक्रम र छोटा फिल्ममा उनले काम गरिसकेका छन् । पाण्डेले सयौं चर्चित म्युजिक भिडियो समेत छायांकन गरेका छन् ।