जनता टाइम्स

२६ श्रावण २०७९, बिहीबार १२:५०

स्याङ्जामा पूर्ववडाध्यक्ष मृत अवस्थामा भेटिए


स्याङजा, २६ साउन । वालिङ नगरपालिका–९ का पूर्व वडाअध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला पर्नुभएको छ । वालिङ–१३ स्थित गहाखोला सडकमा आज बिहान उहाँ मृत अवस्थामा फेला पर्नुभएको हो । श्रेष्ठ बुधबार रातिदेखि सम्पर्कविहीन हुनुभएको थियो ।

सिद्धार्थ राजमार्गभन्दा करिब २० मिटर तल लडेको अवस्थामा उहाँको शव स्थानीयले भेटेका थिए । स्थानीयवासीले ग१६प ५४६१ नम्बरको स्कुटरसहित श्रेष्ठ पल्टेको अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

श्रेष्ठको शव गह्रौँ प्राथमिक अस्पताल, वालिङमा पोस्टमार्टमका लागि पठाइएको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ । गत २०७४ को स्थानीय निर्वाचनमा उहाँ नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा विजयी हुनुभएको थियो ।