जनता टाइम्स

९ श्रावण २०७६, बिहीबार ०८:३९

ज्यान जोगाउन भाग्दाभाग्दै दोर्दीखोलाको बाढीमा बगे हाइड्रोमा कार्यरत मजदुर


लमजुङ, साउन ९ । लमजुङको बेँसीसहरबाट माथि दोर्दी खोलामा बुधवार दिउसो अचानक आएको बाढीबाट बच्नका लागि दोर्दीखोला जलबिद्युत आयोजनामा काम गरिरहेका मजदुरहरु भागे । बाढीबाट बच्न अनेकौं प्रयाश गरे । तर कसैको केही सीप चलेन । भाग्दाभाग्दै खोलाले बगाएर लग्यो ।

दोर्दी खोलामा लिबर्टी इनर्जीले २५ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । त्यसभन्दा माथि ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत् आयोजना पनि निर्माणाधीन छ । अपर दोर्दी ए आयोजनाका सञ्चालक रामबहादुर पाण्डेका अनुसार बुधवार एक्कासी बाढी आउँदा मजदुरहरु बगेका हुन । सो परियोजनाको करिब ९७ प्रतिशत काम सकिएको थियो । साउन र भदौभरिमा सबै काम सक्ने भनेर सञ्चालकको तर्फबाट पाण्डे आफैँ पनि फिल्डमा खटिनुभएको थियो ।

‘हामी काममा व्यस्त थियौँ । दिनभर सिमसिम पानी परिरहेको थियो । हामीभन्दा सयौँ किलोमिटर माथिबाट खोला बगेर आउने हो । कहीँ कतै पहिरो गयो होला, खोला थुनियो होला । त्यो हामीलाई अनुमान भएन,’ पाण्डेले भन्नुभयो । प्रत्यक्षदर्सी पाण्डेका अनुसार अचानक बुधबार दिउँसो सुपरदोर्दीका प्रतिनिधिहरूले फोन गरेर भने, ‘माथिबाट भयानक बाढी आउँदैछ ।’ हतार हतार सबैलाई सुरक्षित स्थानतर्फ लाग्न खबर गरे । पावरहाउसमा भएका सबै सुरक्षित स्थानमा पुगे । तर, ‘हेड वक्र्स’ पावरहाउस भन्दा पनि ६ किलोमिटर माथि थियो । त्यहाँका मजदुरहरूले भाग्ने पर्याप्त समय पाएनन । करिब साँढे २ बजे भयानक बाढी आयो ।

‘हेड वक्र्स’मा काम गरिरहेका ११ जनालाई बाढीले बगाएको प्रारम्भिक रिपोर्ट छ, त्योमध्ये चार जनाको शव भेटिएको छ । त्यसैले सात जना बेपत्ता छन् भन्ने अनुमान छ । तर परियोजनाको तर्फबाट विभिन्न ठेकेदारले काम गरिरहेका छन । अलग अलग ठेकेदारले आ–आफ्ना मजदुर परिचालन गर्छन । त्यसैले ठेकेदारहरूबाट एकिन तथ्यांक संकलन पनि भइरहेको छ । ‘हेड वक्र्स’ पुरिएको छ ।

‘थुप्रै मेसिनहरू बगेका छन । तर, हामी अहिले धनमालको क्षति मूल्यांकनतर्फ होइन, मानवीय उद्धारमा खटिएका छौँ । मान्छेहरू घाइते छन, उनीहरूको उद्धारमा लागेका छौं,’ पाण्डेले भन्नुभयो । बाढीपछि सेना र प्रहरीको टोली उद्धारमा आएको छ । आज बिहानदेखि उद्धारमा लागिरहको छ ।