जनता टाइम्स

२६ श्रावण २०७९, बिहीबार १८:५३

मेयर बालेनसँग आक्रोशित बने वडाध्यक्ष


काठमाडौं, साउन २६ । काठमाडौं महानगगरपालिकाका वडाध्यक्षहरुले मेयर बालेन्द्र (बालेन) साहको चर्को आलोचना गरेका छन ।बिहीबारको नगर कार्यपालिकाको बैठकमा वडाध्यक्षहरुले फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै साहको कडा आलोचना गरेका हुन ।

बैठकमा वडाध्यक्षहरुले मेयर साह एक्लै हिँड्न खोजेको, सहकार्य नगरेको, फोहोर व्यवस्थापन सम्बन्धी कामबारे जानकारी नदिएको भन्दै आलोचना गरे । आजको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुले फोहोरको विषयमा मात्रै छलफल गरेका थिए । बैठकमा वडा नम्बर १० का अध्यक्ष रामकुमार केसीले मेयर साहले एक्लै हिँड्न खोज्दा समस्या समाधान हुन नसकेको आरोप लगाउनु भयो ।

‘मेयर साब मन्त्रालय जानुहुन्छ, सिसडोल जानुहुन्छ, कुन कुन ठाउँ जानुहुन्छ फोहोर सम्बन्धी कुरा गरिरहनुभएको छ,’ बैठकमा केसीले प्रश्न गर्नुभयो, ‘त्यो गर्दा आफ्नो टिमलाई लिएर जानुभएको छ ? हामीलाई मात्र होइन, फोहोर मैलाको टिमलाई सोध्दा पनि थाहा छैन भन्छन, कसरी समस्याको समाधान हुन्छ त ।’

केसीले एक्लै जाँदा भन्दा टिमसहित जाँदा समस्या समाधानमा सहयोग पुग्ने बताउनु भयो । महानगरको पहिलो कार्यपालिका बैठकले फोहोरमैला व्यवस्थापनका लागि समिति बनाए पनि अहिलेसम्म त्यसको बैठक नबोलाइएकामा पनि उहाँले आक्रोस पोख्नुभयो । यस्तै निर्वाचित भएपछि फोहोर व्यवस्थापन नहुँदासम्म माला खादा लगाउँदिन भने पनि ७० दिनसम्म समस्या समाधान हुन नसकेको र मेयरले माला खादा लगाएको भन्दै केसीले मेयरको आलोचना गर्नुभयो ।

‘फोहोर व्यवस्थापन नहुँदासम्म माला खादा लाउँदिन भन्दा हामी खुसी थियौं, फोहोर व्यवस्थापन राम्रोसँग हुन्छ भन्ने लागेको थियो । तर यत्रो दिन हुँदा पनि हुँदैछ हुँदैछ मात्र । के कारणले भयो ?’ उहाँको भनाई थियो । बैठकमा अन्य सदस्यहरुले पनि फोहोरले गर्दा काठमाडौंबासीले सुत्न पनि नसक्ने स्थिति आएको भन्दै ठोश कदम चाल्न ढिला भइसकेको बताए ।

बैठकमा महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले समेत फोहोर व्यवस्थापन गर्न प्लान ए, बी र सी बनाएर काम गर्नुपर्ने बताउनु भयो ।
काठमाडौं महानगरपालिका ३० नम्बर वडाध्यक्ष दलबहादुर कार्कीले बागमतिमा फोहोर बगाउनु पर्ने भन्दै ब्यंग्य गर्नुभयो ।

केन्द्र सरकारले नै महानगरलाई सहयोग नगरेको भन्दै उहाँले फोहोर बागमतीमा बगाइ दिनुपर्ने बताउनु भएको थियो । कार्कीले भन्नुभयो, ‘काठमाडौंको मुख्य सडकमा फोहोर थुपार्ने कि टुँडिखेलमा लगेर राख्ने हो राखौं । तर फोहोर व्यवस्थापन तत्काल हुनपर्छ ।’