काठमाडौं, साउन २७ । न्यायको माग गर्दै काठमाडौंमा अनशनरत निहारिका राजपुतले सरकारी ज्याद्धतीबिरुद्ध राष्ट्रपति कार्यालय शीतल निवासअगाडि आत्मदाहको प्रयास गर्नुभएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रपति भवनको अगाडि सडकमा राजपुतले आज दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गर्नुभएको हो । सरकारले सार्वजनिक स्थलमा अनसनसमेत बस्न नदिएपछि राजपुतले आत्मदाहको प्रयाश गर्नुभएको हो ।
आत्मदाहको प्रयाशलगत्तै उहाँलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएका कारण अप्रिय घटना हुन नपाएको महाराजगन्ज वृत्तका डिएसपी अंगुर जिसीले बताउनु भयो । निहारिकालाई स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।
महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिकाले आफूलाई शिवराम श्रेष्ठले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको दाबी गर्दै आरोपितलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित केही महिना अघि काठमाडौैंको माइतीघर तथा वसन्तपुरमा समेत अनशन बस्नुभएको थियो । त्यसक्रममा सरकारले उहाँसँग ५ बुँदे सहमति गर्दै असार ३ गते अनशन तोडाएको थियो । गृहमन्त्री बालकृष्ण खाँणकै उपस्थितिमा उहाँले अनशन तोडनु भएको थियो ।

त्यस सम्झौतामा निहारिकाले बलात्कार गरेको आरोप लगाएको शिवराम श्रेष्ठ र छोरा डीएनए परीक्षणको कानुनी प्रक्रिया अगाडि बढाउने तथा उनीहरुको सुरक्षा र आश्रयको व्यवस्था सरकारले गर्ने, आर्थिक साहयता उपलब्ध गराउने, राज्यका सम्पूर्ण निकायलाई पीडितमैत्री बनाउने उल्लेख थियो । तर सम्झौता कार्यान्वयन नभएको भन्दै उहाँले पुनः धर्ना दिन थाल्नुभएको हो । साउन २० गते उहाँले सिंहदरबारको दक्षिण गेट अगाडि धर्ना दिएपछि पक्राउ गरिएको थियो ।
शुक्रबार भने उहाँले वसन्तपुरबाट ट्याक्सीमा शीतल निवास अगाडि ओर्लिएर आफैंले बोतलमा ल्याएको पेट्रोल शरीरमा खन्याउँदा खन्याउँदै प्रहरीले नियन्त्रणमा लिएको हो ।













प्रतिक्रिया दिनुहोस्