जनता टाइम्स

२८ श्रावण २०७९, शनिबार २०:२४

निहारिका राजपुतको विषयमा राष्ट्रपति भण्डारीबाट चासो व्यक्त : कानुनमन्त्री र महान्यायाधिवक्तासँग छलफल


काठमाडौं, २८ साउन ।   हिजो राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरेकी निहारिका राजपुतको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गर्नुभएको छ ।आज कानुनमन्त्री गोविन्द प्रसाद शर्मा कोइराला र महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई बोलाएर राष्ट्रपति भण्डारीले निहारिकाको विषयमा ध्यानाकर्षण गराउनुभएको हो ।

कानुनमन्त्री र महान्यायाधिवक्तासँग नियमित परामर्श गर्ने क्रममा आज भएको भेटमा राष्ट्रपति भण्डारीले निहारिकाको सन्दर्भमा गम्भीरतापूर्वक चासो व्यक्त गर्नुभएको राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले बताउनुभयो ।

राष्ट्रपति भण्डारीको चासोपछि कानुनमन्त्री कोइरालाले निहारिकाको विषयलाई सरकारले गम्भीरताका साथ लिएको भन्दै थप पहल गर्ने बताउनुभएको पनि ढकालले बताउनुभयो ।मन्त्री कोइरालाले निहारिकाको मुद्दामा फैसला गर्ने न्यायाधीशविरुद्ध कारबाही प्रक्रिया अघि बढिसकेको पनि जानकारी गराउनुभएको छ । ९ दिनदेखि वसन्तपुरमा अनशनरत निहारिका राजपुतले हिजो राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गर्नुभएको थियो । तर शरीरमा पेट्रोल छर्किसकेपछि प्रहरीले रोकेका कारण अप्रिय घटना हुनबाट जोगिएको थियो ।

निहारिकाले आफूमाथि बलात्कार गर्ने व्यक्तिलाई पक्राउ गर्नुपर्ने र बच्चाको डीएनए टेस्ट गर्नुपर्नेलगायतका माग राख्नुभएको छ । आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्बिर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको बताउँदै आएकी निहारिकाले घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः जाँच गरिनुपर्ने माग गर्नुभएको छ ।