जनता टाइम्स

२९ श्रावण २०७९, आईतवार ०७:४०

चिनियाँ नाका फेरि बन्द


काठमाडौं, साउन २९ । कोरोनाका कारण तीन वर्षयता निर्यात ठप्प र आयात प्रभावित भइरहेका उत्तरी रसुवागढी र तातोपानी नाका फेरि बन्द भएका छन् । तिब्बत क्षेत्रमा कोरोना संक्रमण फेरि बढेपछि आइतबारदेखि रसुवागढी नाकाबाट हुने निर्यात रोकेको चीनले बुधबारदेखि तातोपानीबाट हुने आयात पनि रोकेको छ ।

रसुवागढी नाकाबाट शनिबार बिहानसम्म सामान लोड भएका कन्टेनर नेपाल आएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताउनु भयो । ‘आइतबारदेखि नाकाबाट कन्टेनर आएका छैनन्, आयात ठप्प छ,’ उहाँले भन्नुभयो, ‘रसुवागढी नाकाबाट चीनतर्फ निर्यात नभएको भने ३० महिना भयो । मानिसको आवतजावत पनि बन्द छ ।’ चिनियाँ पक्षबाट आयात रोकेका विषयमा कुनै औपचारिक जानकारी भने आएको छैन ।

आयात रोकिनुअघिसम्म नाकाबाट प्रतिदिन बढीमा १४ चिनियाँ कन्टेनर सामान आयात भइरहेको थियो । नाका बन्द भएपछि व्यापारीका सामान तिब्बतमै रोकिएका छन् । नेपाल ल्याउन लोड भएका सामान केरुङमा रोकिएको छ । तिब्बतमा कोरोना बढेपछि त्यहाँका सरकारी कार्यालय र विद्यालय पनि बन्द भएको अनौपचारिक जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीको भनाइ छ । तिब्बत सरकारले पहिलो चरणमा आठ दिनका लागि नाका बन्द गर्ने निर्णय गरेको अपुष्ट जानकारी प्राप्त भएको उहाँले बताउनु भयो ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ स्थित चीन जोड्ने तातोपानी नाकाबाट पनि बुधबारयता मालवाहक सवारीसाधन आउन ठप्प भएको हो । चीनको वुहानसहित विभिन्न प्रान्तमा कोरोना फैलिएको भन्दै चिनियाँ पक्षले नाका बन्द गरेको हो । चिनियाँ सुरक्षाकर्मी र अधिकारीबाट चीनमा कोरोना फैलिएको सन्देशसहित कन्टेनर आउजाउ नहुने जानकारी आएको छ ।

कोरोना संक्रमण फैलिन नदिन ‘आइसोलेट एरिया’ सहित सञ्चालित तातोपानी नाकाबाट यसअघि कोरोनाकालमै ७७ करोड राजस्व संकलन भएको थियो ।