काठमाडौं, २९ साउन । आइतबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको मुटुको धडकन मानवअधिकार आयोगको एउटा विज्ञप्तिले बढाइदिएको छ । आयोगले द्वन्द्वकालिन घटनामा चासो देखाउँदै विज्ञप्ति जारी गरेपछि उनको धडकन बढेको हो ।
आयोगले संसद सचिवालयमा दर्ता गरिएको संक्रमणकालिन न्यायसम्वन्धी विधेयकका प्रावधानमा आपित्ति जनाउँदै विज्ञप्ति जारी गरेको हो । धेरैपछि धेरै सेटिङ मिलाएर द्वन्द्वकालिन मुद्दा मिलाउने चाँजो मिलाएका प्रचण्डलाई विज्ञप्तिले चिसै पानी खन्याइदिएको छ । दर्ता भएको विधेयकमा मानवअधिकारको उल्लंघनका घटनालाई दुई भागमा वर्गिकरण गरिएकामा मानवअधिकारवादी संघसस्थाले पहिल्यैदेखि विरोध गर्दै आएका थिए ।
दर्ता भएको विधेयकमा कर्तव्य ज्यानलाई सामान्य मानवअधिकार उल्लंघनमा राखेको छ भने यातना दिएर, विभत्स ढंगले वा अन्य अमानवीय ढंगले हत्या गरेकालाई गम्भिर मानवअधिकार उल्लंघन घटनामा वर्गिकरण गरेको छ । सर्वोच्च अदालतले यसअघि नै मानवअधिकारका गम्भिर उल्लंघनका घटनामा उन्मुक्ति दिने गरी कानुन बनाउन नमिल्ने फैसला सुनाएकाले चतुर कानुन व्यवसायीका रुपमा चिनिएका हालका कानुनमन्त्री गोविन्द बन्दीले यस्तो आइडिया ल्याएका हुन् ।
नेपालको सेटिङमा मुद्दा जिताउने हराउने मामलामा जतिनै माहिर भए पनि मन्त्री बन्दी यो विधेयक संसदमा दर्ता गराएर कानुनी ज्ञानमा अल्पनै रहेको जानकारी दिएको जानकारहरू बताउँछन् । अन्तर्राष्ट्रिय कानुनको सामान्य जानकारी राख्ने कसैले पनि यसरी मानवअधिकार उल्लंघनका घटनालाई वर्गिकरण नगर्ने कानुन व्यवसायीहरू बताउँछन् ।
द्वन्द्वमा निशस्त्र, गैरसैनिक, युद्धमा असंलग्न, आत्मसमर्पण गरेका, शत्रुपक्षकै भए पनि घाइते भएर लडन नसक्ने अवस्था भएका व्यक्ति वा कब्जामा परिसकेका व्यक्तिको हत्यालाई गम्भिर प्रकृतिको मानवअधिकारको घटना मानिन्छ । किनभने यो जेनेभा महासन्धीको प्रतिकुल पनि हुन्छ ।
मानवअधिकार आयोगले जेनेभा महासन्धीतर्फ लक्षित गर्दै कानुन बनाउँदा अन्तर्राष्ट्रिय जगतले पनि मान्य हुने गरी र मानवीय कानुनको प्रतिकुल नहुने गरी बनाउन ध्यानाकर्षण गराएको छ । यसअघि पनि नेपाली काँग्रेस र माओवादीको संयुक्त सरकार भएका बेला यस्ता कानुन ल्याउन खोजिएकामा सरोकारवाला र अन्तर्राष्ट्रिय समुदायको विरोधमा रोकिएको थियो ।
धेरै प्रयत्नपछि ल्याइएको यो विधेयकमा पनि सरोकारवालाले विरोध जनाउन थालेपछि प्रचण्डको मुटुको धडकन बढेको हो । माओवादीले १० वर्ष चलाएको सशस्त्र द्वन्द्वमा १७ हजारको ज्यान गएको छ भने लाखौं घाइते भएका छन् । ती मध्ये ५ हजार आफूहरूले हत्या गरेको कुरा प्रचण्डले काठमाडौंको टुँडिखेलको खुलासभामा नै स्वीकार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्