जनता टाइम्स

३० श्रावण २०७९, सोमबार १९:५६

राष्ट्रपतिको कदम स्वागतयोग्य छ, गठबन्धनको राष्ट्रबिरोधी हर्कतलाई जनताको बीचमा नांगेझार पार्नुपर्छ : एमाले सचिव भट्ट


कैलाली, साउन ३० । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश ईञ्चार्ज लेखराज भट्टले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्नु स्वागत योग्य रहेको बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव भट्टले यस्तो बताउनु भएको हो । राष्ट्रपति बिद्यादेवी भण्डारीले आइतवार संसदलाई नागरिकता बिद्येयक पुनर्बिचार गर्न सन्देशसहित फिर्ता पठाउनु भएको थियो । सचिव भट्टले संबिधानको संरक्षक र राष्ट्रप्रमुखले मुलुकको हितमा सही कदम चाल्नुभएकोले स्वागतयोग्य रहेको बताउनु भयो ।

‘नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले देशको स्वाभीमान जोगाउनु भयो, कुनै पनि देशमा सिन्दुर हाल्ने वित्तिकै विदेशी बुहारीलाई नागरिकता दिने चलन छैन, हाम्रो देशमा मात्रै यस्तो राष्ट्रघाती कदम चालिएको छ,’ सचिव भट्टले भन्नुभयो । उहाँले छिमेकी भारतमा मात्रै पनि ७ वर्ष नपुग्दा सम्म नागरिकताको प्रकृया नै सुरु नहुने प्रावधान रहेको बताउँदै नेपालमा बिहे गर्न साथ नागरिकता दिने सत्तारुढ गठबन्धनको निर्णय अत्यन्तै घातक रहेको बताउनु भयो ।

‘सार्क मुलुकको कुरा गर्ने हो भने भारतमा ७ वर्ष नपुग्दा नागरिकताको प्रकृया नै सुरु हुदैन, अफगानीस्तानले पनि ७ वर्षमा नागरिकता दिन्छ, मालदीभ्सले १२ वर्षपछि मात्रै विदेशी बुहारीलाई नागरिकता दिन्छ, भुटानमा त विहे गरेर बच्चा जन्मेको २ वर्ष पछि मात्रै आमाले नागरिकता पाउने प्रावधान छ । बंगलादेशले पनि २ वर्ष भन्दा अगाडि नागरिकताको प्कृया सुरु गर्दैन, नेपालमा मात्रै किन यस्तो ?’ सचिव भट्टले भन्नुभयो ।

उहाँले उत्तरमा चीन र दक्षिणमा भारत जस्ता विसाल जनसंख्या भएको देशमा विवाह हुने वित्तीकै नागरिकता दिने प्रावधान राखिनु दुभाग्यपूर्ण र देशको हित विपरित भएको बताउनु भयो । ‘अहिले एमालेले पनि विवाह गर्ने वित्तिकै नागरिकता दिने प्रावधान सहितको विधेयक ल्याएको थियो भनेर गठबन्धनले झुटको खेती गरिरहेको छ, म स्पष्ट पार्न चाहन्छु, नेकपा एमालेले ७ वर्ष पनि मात्रै विदेशी बुहारीले नागरिकता पाउने प्रावधानसहितको विधेयक ल्याएको हो, भ्रममा नपर्न अनुरोध गर्दछु’ सचिव भट्टले भन्नुभयो ।

उहाँले, गठबन्धन देश बनाउन नभएर आफ्नो परिवारका ब्यक्ति बनाउन, आफ्नो स्वार्थ पूर्ती गर्नका लागि बनेको ठोकुवा पनि गर्नुभयो । ‘कसैका बुहारी, छोरी, ज्वाई भाई भतिजा बनाउन गठबन्धन होला, कसैले पुस्तौं पुस्तासम्मका लागि भ्रष्टाचार गरेर अकुत सम्पत्ती कमाउन गठबन्धन होला तर देशहितमा भने गठबन्धन छैन,’ उहाँले भन्नुभयो, ‘मंसिरको चुनावमा स्वार्थको गठबन्धन र नेकपा एमाले बीचको भिन्नता छुट्टीने छ ।’

नेता भट्टले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सुदूरपश्चिममा गरिएका विकास निर्माणका काममा अहिलेको सरकारले पुरै बजेट कटौती गरेको भन्दै आपत्ति जनाउनु भयो ।

‘सुख्खा बन्दरगाहको ठेक्काको चरणमा जाने तयारी थियो, तर यो सरकारले अहिले नीति तथा कार्यक्रममा सम्भाब्यता अध्ययनको बजेट राखेको छ, विषेश औद्योगिक क्षेत्रको पनि पुर्वाधार निर्माण आधा भईसक्ने समय हो, तर सरकारले बजेट काटि दिएको छ । मेडिकल कलेजका लागि ६ अर्वका संरचना बनेका छन, तर सरकार त्यो सञ्चालन गर्दैन,’ सचिव भट्टले भन्नुभयो । उहाँले गठबन्धनले एमालेको पालामा अघि बढाइएका बिकाशलाई अवरोध गरेको समेत बताउनु भयो ।

‘गठबन्धनको सरकार नेकपा एमालेको पालामा भएका लोकप्रिय कामहरुको बजेट काटिरहेको छ, यो कुरा जनताले बुझ्न जरुरी छ,’ उहाँको भनाई थियो ।

प्रशिक्षण कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले सत्तारुढ गठबन्धनको मुलुक र जनताबिरोधी हर्कतलाई सञ्चार क्षेत्रले तथ्यसहित नांग्रझार पार्न ढिलाई गर्न नहुने बताउनु भयो । बतृमान गठबन्धन सरकारको रवैया आपत्तिजनक रहेको भन्दै उहाँले देशका लागि सवै पत्रकारहरु एकजुट भएरु भण्डाफोर गर्नुपर्ने बताउनु भयो । अध्यक्ष बस्नेतले देशको स्वाभीमान बचाउन, राष्ट्रयताको रक्षाका लागि सबै पत्रकारहरुले एकजुट भएर लाग्न आग्रह पनि गर्नुभयो ।

प्रेस चौतारी कैलालीका अध्यक्ष भानुभक्त आचार्यको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रेस चौतारी नेपालकी सचिव तथा सुदुरपश्चिम इञ्चार्ज लोकशरी कुँवर, एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य दिपक देवकोटा, सुदुरपश्चिम प्रदेशका सचिव धर्मराज पाठक, कैलालीका कार्यबहाक अध्यक्ष दुर्गा जोशी, प्रेस चौतारी कैलालीका इञ्चार्ज सुशिल ढुंगानालगायतका बक्ताहरुले बर्तमान गठबन्धन मुलुकको बिरुद्ध लागिपरेको भन्दै जनता जगाउने अभियान थाल्नुपर्ने बताउनु भयो ।