जनता टाइम्स

१ भाद्र २०७९, बुधबार १३:००

फागुन १९ मा हल पायो ‘बर एन्ड बधू’ ले


काठमाडौं, १ भदौ । मिलन चाम्सको निर्देशनमा तयार भैरहेको फिल्म ‘बर एन्ड बधू’को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा फिल्मको छायांकन सकेर नेपाल आएलगतै यसको निर्माण टिमले फिल्मको प्रदर्शन मिति तय गरेको हो ।

निर्देशक चाम्सले दिएको जानकारीअनुसार, लभ स्टोरी र कमेडी जनरामा तयार भएको यो फिल्म आउँदो १९ फागुनबाट रिलिज हुनेछ । वितरकसँग सल्लाह गरेर फागुणलाई प्रदर्शन मिति तय गरिएको चाम्सले बताउनुभयो ।

यो फिल्ममा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । रोमानियामा छायांकनका केही तस्बिरसमेत निर्माणपक्षले सार्वजनिक गरेको थियो, जसमा आँचल र विवेक रोमान्टिक देखिनुभएको छ ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा यो फिल्म तयार भएको हो । फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुनुहुन्छ । फिल्ममा जानुका थापाको लगानी छ ।

भदौ र असोजपछि नेपाली फिल्मका निर्माताको आँखा फागुन महिनामा बढी देखिएको छ । मंसिरको निर्वाचन र त्यसलगतै आउने विश्वकप फुटबलका कारण पनि धेरै निर्माता फागुन र चैतलाई टार्गेट गरिरहेका छन् ।

रोमान्टिक फिल्ममा मिलन चाम्सले आफ्नो छुट्टै छाप छाडिसकेकाले पनि यो फिल्म दर्शकका लागि प्रतिक्षामा रहने निश्चित छ ।