जनता टाइम्स

१ भाद्र २०७९, बुधबार १६:२७

नेपालमा नागरिकता विधेयकमा विवाद आउँदा मोदीको चर्चा


काठमाडौं, १ भदौ । नेपालमा जब जब नागरिकता विधेयकमा विवाद हुन्छ तब तब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्चा हुने गर्दछ । भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धीलाई भारतको प्रधानमन्त्री बनाउने चर्चा चल्दा अहिलेका भारतका प्रधानमन्त्रीले विदेशी मूलको भएको भन्दै विरोध गरेका थिए ।

मोदी गुजरातको मुख्यमन्त्री भएका समयमा चलेको यो विरोधकै कारण सोनियालाई प्रधानमन्त्री बनाउनबाट काँग्रेस पछि हटेको थियो र काँग्रेसकै अर्का नेता मनमोहन सिंहलाई प्रधानमन्त्री बनाइएको थियो । मोदीले त्यतिबेला बोलेको भिडियो यतिखेर नेपालमा भाइरल भएको छ । सो भिडियामा मोदीले भनेका छन् ‘सोनिया भारतकी प्रर्वप्रधानमन्त्री इन्दिरा गान्धीकी छोराबुहारी हुन्, अर्का पूर्वप्रधानमन्त्री राजिव गान्धीकी विधवा हुन् । उनलाई भारतमा सम्मान छ, स्वागत छ । तर के एउटा विदेशी मूलको मान्छे भारतको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सेना प्रमुख, प्रधानन्यायाधीश भारतीय जनताले स्वीकार गर्लान ?’

यसैगरी अहिले नागरिकता विधेयकमा सबैभन्दा बढी विवाद नेपालमा बिहे भएर आउने सोनिया गान्धीजस्तै विदेशी बुहारीलाई तत्काल नागरिकता दिने प्रावधानको हो । आफ्नो देशमा विदेशी मूलका बुहारीलाई ७ वर्षपछि नागरिकता दिने र बाँचुञ्जेल राज्यका प्रमुख अंगका लागि अयोग्य हुने प्रावधान राख्ने भारतीयहरू नेपालमा भने तत्काल दिनु पर्ने वकालत गरिरहेका छन् । भारतबाट बिबाह गरेर आउने बुहारीलाई नेपालले नागरिकता नदिएर विभेद गरेको भन्ने भारतीय मिडियामा आएका छन् ।