जनता टाइम्स

१ भाद्र २०७९, बुधबार १८:१७

वडा कार्यालयको पनि शाखा !


खोटाङ, १ भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क वडा कार्यालयले शाखा स्थापना गरेको छ । बसेरीमा रहेको वडा कार्यालय पुग्न दुईरतीन घण्टा हिँड्न वाध्य स्थानीयलाई लक्षित गर्दै मालामा वडा कार्यालयको शाखा विस्तार गरिएको हो । महिनाको ६ दिन सेवा दिनेगरी बुधबार वडा कार्यालयको शाखा स्थापना गरिएको वडाध्यक्ष रामबहादुर कटवालले बताउनुभयो ।

वडाको शाखाबाट साविकको बिजयखर्क–१ र २ का स्थानीय लाभान्वित भएका छन् । वडाको शाखामा सेवा प्रवाहका लागि सचिव र कार्यालय सहयोगीमध्ये एक जनालाई खटाइने छ । चम्पावती माबिको एउटा खाली भवन लिएर वडाको शाखाका रुपमा सेवा सुरु गरिएको हो । वडा कार्यालय बिजयखर्कले सोही ठाउँबाट स्वास्थ्य सेवा पनि सुरु गरेको छ ।

महिनाको ६ दिन स्वास्थ्यचौकी सरहको सेवा दिनेगरी सेवा सुरु गरिएको हो । तोकिएको दिन एक जना स्वास्थ्यकर्मीलाई औषधि सहित खटाइने वडा कार्यालयले जनाएको छ । स्वास्थ्यचौकीले महिनाको ६ दिन गाउँबाटै सेवा दिन सुरु गरेपछि सामान्य स्वास्थ्य सेवाका लागि घण्टौं हिँड्नुपर्ने नागरिक लाभान्वित भएको स्थानीय युवा नेता किसन भुजेलले बताउनुभयो ।