जनता टाइम्स

१ भाद्र २०७९, बुधबार २०:४२

पार्टी एकता पनि कठिन र त्योभन्दा गठबन्धनमा सिटबाँडफाँड कठिन, सकसमा माधव–प्रचण्ड


काठमाडौं, १ भदौ । नेपाली काँग्रेससहितको पाँच दलिय गठबन्धनमा सिट बाँडफाँड कठिन भइरहेको बेला एक्कासी नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बी पार्टी एकताले चर्चा पाएको छ । मंसिर ४ गतेका लागि तय भएको संघीय निर्वाचन अघि एकीकृत समाजवादी पार्टीले माओवादीसँगको एकताको पहल थालेको चर्चा छ।

यद्यपी यो एकताको चर्चा यसअघि किन नभएको र निर्वाचनको मुखमा आएर हुनुमा एकथरीले काँग्रेसलाई घुर्क्याउन मात्र श्याल हुइय्या चलाइएको बताएका छन् । हुन त बामदेव गौतम र बाबुराम भट्टराईले आ–आफ्नो पार्टी अघोषित रूपमा माओवादीमा विलय गराइसकेका छन् । माओवादीको चुनाव चिन्ह लिनु भनेको पार्टी विलय गराउनु जत्तिकै हो । जुन चुनाव चिन्हबाट जित्यो कानुनी रूपमा सोही पार्टीको सदस्य हुनु हो ।

अब मिल्न बाँकी भनेको एकीकृत समाजवादी हो । ऊ पनि लगभग मिलेकै अवस्था हो । नेकपा फुटाउँदा मिलेकाहरूका बीचको एकता स्वभाविक पनि हुने माओवादीका एक नेताले बताउनु भयो । बुधबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’बनाउने निर्णय गरेको छ ।

वामहरुको बीचमा एकता भनिए पनि खासमा मिलेकाहरूबीचकै प्राविधिक मेल मात्र भएको राजनीतिमा चासो राख्नेहरू बताउँछन् । यसअघि सोही पार्टीका नेताहरूले एमाले बिनाको बाम एकताको कुरा हावादारी गफ मात्रै भएको बताउदै आएका थिए । एकीकृत समाजवादीमा पनि सम्मानित नेता झलनाथ खनाल माओवादीसंगभन्दा एमालेसंगको एकता जोड दिदै आएको बताइन्छ । माधव नेपाल पक्षले एकताका नाममा माओवादीमा पार्टी विलय गराउन खोजे झलनाथ समूहले विद्रोह गरेर एमालेमा जाने भएकाले चुनावअघि पार्टी एकता असम्भव भएको बताइएको छ ।

काँग्रेससंग सिट बाँडफाँडमै कठिन हुने र भइ हाले पनि चुनावपछि काँग्रेसले मधेसवादीसंग मिलेर सरकार बनाउँदा आफूहरूको भ्यालु नहुने बुझेका प्रचण्ड र नेपाल ‘मर्ता क्या नहि कर्ता’ भने झै अन्तिममा एकअर्कामा विलय हुन एकताको नाटक गरिएको राजनीतिक विश्लेषकको बुझाइ छ ।

समितिमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु रहनुपर्ने सुझाव दिएको उनले बताए । नेता तुलाधरले माओवादीबाट पनि समिति गठन होस् भन्ने चाहेको बताए । साथै समितिमा शीर्ष नेताहरू नै सहभागी हुनुपर्ने उनको भनाइ थियो ।

निर्वाचनको मिति घोषणा हुनु अघि वाम मोर्चाको छलफलमा एकीकृत समाजवादी, माओवादी केन्द्र, वामदेव गौतम लगायतका नेता लागेको भए पनि त्यसले मूर्तता पाउन सकेको छैन । त्यसरी चुनावमा जान मिल्ने गरि निर्वाचन आयोगले पनि अनुमति दिइसकेको छ तर वाम दलहरुबीच त्यस खालका छलफल पछिल्ला दिनमा भएका छैनन् । प्रचण्डले बाबुराम भट्टराईसँग कार्यगत एकता गरेका छन् ।

नेपाली कांग्रेससँग गठबन्धनमा रहेका नेकपा एस र माओवादी केन्द्रलाई चुनावमा सिट बाँडफाँट चुनौतीपूर्ण छ । कांग्रेसले धेरै सिटमा दाबी गरिरहँदा आफूहरु कमजोर हुने र सिट बार्गेनिङ पावर कम हुने देखेसँगै एकीकृत समाजवादीले माओवादीसँगको एकताको प्रस्ताव राखेको माओवादीका एक नेताले बताए ।

एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल भने माओवादी केन्द्रसँग भन्दा एमालेसँगको एकताको पक्षमा रहँदा आएका छन् । उनलाई बाइपास गरेर जान सक्ने अवस्थामा माधव नेपाल नभएकाले चुनाव अघि नै एकताको सम्भावना कम हुने ति नेताको अनुमान छ ।