जनता टाइम्स

२ भाद्र २०७९, बिहीबार १२:४९

एमाले अध्यक्ष ओली गृहजिल्ला झापामा, यस्तो छ तीन दिने कार्यक्रम


भद्रपुर, भदौ २ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा आइपुग्नु भएको छ । अध्यक्ष ओली तीन दिने बसाईसहित आज झापा आउनु भएको हो ।

अध्यक्ष ओलीलाई चन्द्रगढी बिमानस्थलमा एमाले नेता कार्यकर्ताहरुले भब्य स्वागत गर्नुभयो । तीनसाता अघि चार दिन बसेर फर्कनु भएका ओली फेरी तीनदिन बस्ने गरी झापा आउनु भएको हो ।  यस पटक अध्यक्ष ओलीको कार्यक्रम नेपाल कै होचो भूमी केचनादेखि गौरादह र विर्तामोडदेखि इलामको चुलाचुलीसम्म राखिएको छ ।

एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार आज कचनकवल गाउँपालिकाको बनियानीमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुनेछ । बनियानीमा बृहत पार्टी प्रवेश तथा क्षेत्र नं ३ का कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओली नेपालकै होचो भूमी कचनकवल स्तम्भको अवलोकन गर्न पनि जानुहुने कार्यक्रम रहेको छ ।

यसैगरी आज साँझ पाँच बजे आफ्नो निर्वाचन क्षेत्र दमकमा मैथीली समाज र मुस्लिम समाजका अगुवा कार्यकर्ताहरुसँग भेट्ने कार्यक्रम रहेको छ । उक्त भेटघाट पशुपति मन्दिरको हलमा हुनेछ । भोली भदौ ३ गते विहान ११.३० बजे इलामको चुलाचुलीमा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले अन्य पार्टी परित्याग गरी ठूलो संख्यामा कार्यकर्ताहरुलाई एमाले प्रवेश गराउने कार्यक्रम छ ।

यस्तै दिउसो १ बजे एमाले निकट मजदुरहरुको दमक नगर सम्मेलन उदघाटन तथा भेटघाट कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ । अपरान्ह ३.३० बजे गौरादह ५ स्थित स्कुलचौनमा आयोजना हुने पार्टी प्रवेश तथा जनसंगठनहरुको भेटघाटमा अध्यक्ष ओली सहभागी हुनुहुनेछ । साँझ ५ बजे पार्टी निकट नेपाल उद्योग तथा व्यावसाय महासंघले आयोजना गर्ने भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनुहुने थापाले जानकारी दिनुभयो ।

ओलीका सांसद प्रतिनिधिसमेत रहनुभएका नेता थापाका अनुसार भदौ ४ गते विहान ११ बजे प्रोग्रेसिप इन्जिनियर एशोसिएसन नेपालको प्रदेश नं १ स्तरीय सम्मेलन विर्तामोडको सिटी सेन्टरमा उदघाटन गर्ने कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनुहुनेछ । दिउसो १ बजे अनेम संघ झापाको जिल्ला अधिवेशन अध्यक्ष ओलीले उदघाटन गर्नु हुनेछ ।

उक्त कार्यक्रम हिमाल पार्टी प्यालेस विर्तामोडमा हुनेछ । दिउसो २.३० बजे नेपाल उद्योग तथा व्यावसायी महासंघको जिल्ला भेलालाई सम्बोधन गरेर अपरान्ह ३.३० भद्रपुरबाट काठमाडौ फर्कने कार्यक्रम छ । झापा बसाईको क्रममा अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रका अगुवाहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।