जनता टाइम्स

१० श्रावण २०७६, शुक्रबार ०९:०८

खाँडो-महुली-जिताखोलामा आएको बाढीले डुब्यो तिलाठी : २५ सय परिवारको बिचल्ली


सप्तरी,साउन १० । अविरल वर्षा र बाढीका कारण सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका डुबानमा परेको छ । गाउँपालिकाका अध्यक्ष सतिश सिंहका अनुसार बाढीले दुई हजार पाँच सय घर डुबानमा परेका छन भने २५ परिवार विस्थापित भएका छन । सप्तकोसी, खाँडो, महुली, जितालगायत खोलामा आएको बाढीले गाउँपालिकाका करिब ४० प्रतिशत घर डुबानमा परेको उनको भनाइ छ । २८ असारको बाढी सुक्न नपाउँदै गाउँपालिका पुनः डुबानमा परेको हो ।

बाढीले खाँडोखोलाको बाँध तीन ठाउँमा फुटेको छ । गत २८ असारको खाँडोखोलाले कटान गरेको दुई स्थानमा नेपाली सेनाले बाँध मर्मत गरेको थियो । तर, अर्को ठाउँमा काम गर्दागर्दै बाढीले बाँध बगाएको छ । मर्मत–सम्भारको काम पूरा गर्न नपाएकै कारण बाढी गाउँमा पसेको सिंहको भनाइ छ । उहाँका अनुसार बाढीले तिलाठीका सबै घर डुबेको र २५ परिवार कोसीको बाँधमा आश्रय लिएर बसेका छन । बाढीले तिलाठीका शतप्रतिशत घर डुबेका छन भने कोइलाडी र वरसाइनमा ३५ प्रतिशत र अन्य गाउँमा कतै १५ र कतै २५ प्रतिशत डुबान छ ।

यसैगरी, तिलाठी कोइलाडी–१ स्थित गाउँपालिका कार्यालय, १ नम्बर वडा कार्यालय, प्रहरी चौकी र सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट, वेल्ही भन्सार कार्यालय, स्वास्थ्य चौकीलगायत आधा दर्जन सरकारी कार्यालय डुबानमा परेका छन् ।प्रहरीलाई छिमेकीको घरमा सारिए पनि पानी जमेका अन्य कार्यालयको सेवा ठप्प भएको गाउँपालिका अध्यक्ष सिंहले जानकारी दिनुभयो । महुली, सप्तकोसी र जिताको बाढीले वडा नम्बर ४ को कोइलाडी र वडा नम्बर ५ को बसाइनवासी डुबानमा परेको सिंहले बताए ।

खानेपानीको समस्या

बाढीका कारण तिलाठीका अधिकांश ट्युबेल डुबेकाले खानेपानीको समस्या उत्पन्न भएको छ । घरघरमा फोहोर पानी जमेकाले रोगको प्रकोप फैलने सम्भावना बढेको छ । स्वास्थ्यचौकी डुबानमा परेकाले स्वास्थ्योपचार र औषधि वितरणको कामसमेत प्रभावित भएको छ । खाँडोखोलाको बाढीले तिलाठीस्थित राजविराज–कुनौली सडकखण्डमा सवारीसाधन ठप्प भएको छ ।

गाउँभरि बाढीको फोहोर पानी जमेको र अधिकांश ट्युबवेल प्रयोग गर्ने अवस्थामा नरहेको स्थानीयको भनाई छ । बाढी प्रभावित क्षेत्रमा सर्पको बिगबिगी पनि बढेको छ ।