जनता टाइम्स

४ भाद्र २०७९, शनिबार १५:४९

‘सायरा’मा बलिउड निर्देशक विशाल देसाईको निर्देशन


काठमाडौं, ४ भदौ । अभिनेता आर्यन सिग्देल अनुबन्धित फिल्म ‘सायरा’लाई बलिउडका निर्देशक विशाल देसाईले निर्देशन गर्ने हुनु भएको छ । निर्माता रघु परियार र बलिउड निर्देशक विशालबीच शुक्रबारे सम्झौता भएको हो ।

सम्झौता मुम्बईमा भएको हो । निर्माण कम्पनी डि।बि।आर। मिडिया एण्ड मुभिज प्रालिको तर्फबाट सम्झौता गर्दै निर्माता रघुले आउँदो दसैँताका फिल्म छायांकन सुरु हुने बताउनुभयो ।

‘हाम्रो फिल्म गर्न उहाँ तयार हुनुभयो । बलिउडको उहाँको अनुभवले नेपाली फिल्मको मेकिङ उत्कृष्ट हुने विश्वास छ । उहाँले हामीलाई गर्नु भएको ट्रष्टले निकै खुसी मिलेको छ,’ मुम्बईमा रहेका निर्माता रघुले भन्नुभयो । निर्देशक देसाईले पनि नेपाली फिल्म गर्न पाउँदा उत्साहित भएको बताउनुभयो । ‘नेपाल र भारतको सम्बन्ध निकै प्रगाढ छ । साँस्कृतिक दृष्टिकोणले पनि हामी नजिक छौँ । नेपाली फिल्मको अफर आएकोले यसपटक गर्न रेडी भएको हुँ,’ निर्देशक देसाईले भन्नुभयो । उहाँ अहिलेसम्म नेपाल नआए पनि नेपाली जीवनसैैलीसँग परिचित रहेको प्रतिक्रिया दिनुभयो ।

निर्देशक देसाईले ‘वीरगति’ र ‘ढोलकी’ नामक फिल्म निर्देशन गरिसक्नु भएको छ । उहाँले ‘कामिनी दामिनी’ नामका टिभी सिरियल समेत निर्देशन गर्नु भएको छ । उहाँले धेरै फिल्ममा अभिनय समेत गर्नु भएको छ । उहाँले अमर प्रेममार्फत अभिनय यात्रा सन् १९७२ मा सुरु गर्नु भएको हो ।