चौतारा, ५ भदौ । चौतारा साँगाचोकगढी नगरपालिकाका निवर्तमान मेयर अमानसिं तामाङले अब माओवादी जनजातीको पार्टी नरहेको बताउनुभएको छ । माओवादी र एमालेको केन्द्रमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य तथा पदाधिकारी चयनको आधारमा माओवादी जनजातीको पार्टी नरहेको बताउनुभएको हो । माओवादी जनजातीको पार्टी नरहेकोले नै आफुले माओवादी छोडेर एमालेलाई समर्थन गर्न लागेको बताउनुभयो । उहाँले एमालेको केन्द्रिय समितिमा सिन्धुपाल्चोकबाट ४ जनामा २ जना तामाङ समुदायको र २ जना खस आर्य समुदाय भएको तर माओवादीको केन्द्रिय समितिमा ८ जना रहेकोमा सबै खसआर्यबाट मात्रै रहेको उदाहरण दिनुभयो ।
जनजातीको सवालमा माओवादी भन्दा एमालेको धारणा, हेराइ उपयुुक्त रहेको बताउनुभयो । साथै केन्द्रिय समितिको पदाधिकारी चयनमा पनि जनजाती, दलितको सहभागिता अत्यन्तै न्यून रहेकोले पनि माओवादी केन्द्र जनजातिको पार्टी नरहेको पुष्टि हुने जानकारी गराउनुभयो । माओवादी भित्र बिना पेशा नव धनाढ्य रहेको, पदको निम्ति जस्तोसुकै हर्कत गर्ने, सत्ताको निम्ति जस्तोसुकै राष्ट्रघात गर्ने गरेकोले आफूले माओवादी छोडेको बताउनुभयो । नाकाबन्दीको समयदेखि एमाले माओवादी भन्दा बढी राष्ट्रवादी रहेको पनि जिकिर गर्नुभयो ।
नाकाबन्दीको सामना, चुच्चे नक्सा प्रकाशन, चीन सङ्गको पारबहन सम्झौता लगायत बिषयले एमालेप्रति आफू आकर्षित भएको बताउनुभयो । एमालेले २०४८÷४९ सालदेखि नै शान्तिपुर्ण प्रतिस्पर्धालाई स्वीकार गरेको तर माओवादी एमालेको लाइनमा १५ बर्ष पछि अर्थात ६३ सालबाट मात्रै आएको उल्लेख गर्नुभयो । ‘एमालेकै बाटोमा आउनु थियो, काङ्ग्रेससँग यतिधेरै लम्पसार पर्नु थियो भने ५२ सालदेखी युद्ध किन गरेको ? उहाँले माओवादीलाई प्रश्न गर्नुभयो । माओवादीले सबै गरिब जनताको जीवनमा परिवर्तन ल्याउन लडेको भनिएपनी सीमित नेताहरुको जीवनमा मात्रै परिवर्तन आएको तर आम जनसमुदायको जीवनमा कुनै परिवर्तन नआएको पनि सुनाउनुभयो ।
उहाँले थप्नुभयो,‘जुन वर्गको विरुद्ध २०५२ सालमा लडाइ लडियो, अहिले माओवादी त्यही बर्गको पुच्छर भएर राष्ट्रघाती काम गर्दै आएको छ ।’ एमसिसि पास, नागरिकता बिधेयक पास जस्ता राष्ट्रघात माओवादीले सत्तामा टिकिरहन गरेको पनि आरोप लगाउनुभयो । कतिपय संचारमाध्यमहरुले पद नपाएर, एकपक्षले हेपेको भन्दै उहाँले माओवादी छोडेको भन्ने कुरालार्इ अस्वीकार गर्दै आफूले माओवादी छोड्नुमा र एमालेमा लाग्नुमा कुनै पदको सवाल नरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘मैले ३८ बर्ष दुःख गरेको पार्टीले त केही दिएन, केही भएन ३८ मिनेट पनि कुनै दुःख नगरेको पार्टीले केहि दिन्छ भन्ने छैन । राजनीतिक रूपमानै माओवादी बिचलित भएकोले माओवादी छोडेको हो ।’













प्रतिक्रिया दिनुहोस्