जनता टाइम्स

८ भाद्र २०७९, बुधबार १५:५३

गठबन्धनभित्र सिट बाँडफाँटमा गम्भीर बिवाद, कांग्रेसको प्रस्ताव स्वीकार्य नभएको माओवादी घोषणा


काठमाडौं, भदौ ८ । सत्तारुढ गठबन्धनबीच आगामी निर्वाचनको सिट बाँडफाँटमा गम्भीर बिवाद रहेको पाइएको छ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले कांग्रेसको प्रस्ताव मान्नै नसकिने खालको रहेको भन्दै बिषय बाहिर ल्याउनु भएपछि यो तथ्य उजागर भएको हो ।

उहाँले कांग्रेसले निकै हेपेको भन्दै एक दुई दिनभित्रै आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताउनु भयो । रिपोर्टस क्लबमा बुधबार आयोजित कार्यक्रममा उहाँले दलका शीर्ष नेताहरूबीच यसै बिषयमा छलफल भइरहेको बताउनु भयो ।

कार्यक्रममा उहाँले पार्टीबाट निर्वाचनका लागि उम्मेदवार छान्ने प्रक्रिया पहिलाको जस्तै हुने बताउनु भयो । उहाँका अनुसार सुरुमा जिल्लाबाट प्रदेशमा दावेदारको नाम सिफारिस हुन्छ र त्यसपछि प्रदेशबाट केन्द्रमा नाम सिफारिस हुन्छ । यही प्रक्रियाबाट आएका मात्रै उम्मेदवार बन्नेछन् । यसरी दावेदारको नाम सिफारिस गर्दा बढीमा तीन जना केन्द्रमा सिफारिस हुनेछन् । सकेसम्म जिल्लाबाट एकै जनाको नाम सिफारिस गर्ने प्रयास हुनेछ । यद्यपि, प्रजातान्त्रिक पक्रिया पनि मानिन्छ ।

गुरुङले पार्टीका ‘हेभी वेट’हरूसँगको प्रतिस्पर्धामा आउनेहरूबीच आपसी सहमतिका लागि प्रयास पनि गरिने बताउनु भयो । यसमा नेताहरूले सहजै मिलाउने विश्वास लिएको उहाँको भनाइ छ । उहाँले सत्ता साझेदार गठबन्धनसँगै निर्वाचनमा पनि गठबन्धन हुने दोहोर्याउनु भयो । तर, कसरी सिट विभाजन हुने भने टुङ्गो नलागेको बताउनु भयो ।

उहाँले कांग्रेसले भनेजस्तो अघिल्लो निर्वाचनको संख्याको आधारमा सिट विभाजन गर्न नसकिने बटमलाइन सुनाउनु भयो । ‘अहिलेको परिस्थिति नै अर्कै छ । यसका लागि भिन्न मापदण्ड बनाउनु पर्छ । हामी मापदण्ड बनाउ भनिरहेका छौं । छलफल जारी छ १–२ दिनभित्रै टुङ्गिन्छ,’ उहाँले भन्नुभयो, ‘कांग्रेसको प्रस्ताव मान्न सकिन्न ।

कार्यक्रममा उहाँले स्वतन्त्र विचार राखेर जोसुकै पनि निर्वाचनमा सहभागी हुन सक्ने बताउनु भयो । प्रजातन्त्र दलगत विचारका साथै स्वतन्त्र विचारलाई पनि सम्मान गर्नुपर्छ भन्ने कुराप्रति आफ्नो दल सचेत रहेको उहाँको भनाई छ ।