जनता टाइम्स

८ भाद्र २०७९, बुधबार १९:१५

उच्च अदालतले दियो निहारिकाको छोरा र आरोपीको डीएनए टेस्ट गराउन आदेश


जनकपुर, भदौ ८ । उच्च अदालत जनकपुरले ‘कुमारी आमा’ का रुपमा चिनिएकी निहारिका राजपूतको बच्चा र आरोपि शिवराज श्रेष्ठको डीएनए टेस्ट गर्न आदेश दिएको छ । सरकारी वकिलको माग बमोजिम अदालतले आज यस्तो आदेश दिएको हो ।

निहारिकाले शिवराजबाट बलात्कार भएर आफ्नो बच्चा जन्मिएको दावी गर्दै १७ दिन आमरण अनशन बस्नुभएको थियो । आफ्नो बच्चा र आरोपीको डीएनए म्याच गराउनुपर्ने उनको मुख्य माग थियो । सरकारका तर्फबाट कानूनमन्त्री गोबिन्द बन्दीले उहाँको माग पूरा गराउने आश्वासन दिनुभएको थियो ।

कानूनमन्त्रीले निहारिकासँग गरेको प्रतिवद्धता उच्च अदालतले पुरा गरिदिएको हो । उच्च सरकारी वकिलको कार्यालय जनकपुरमार्फत निहारिकाको छोरा र आरोपी श्रेष्ठलाई विधिविज्ञान प्रयोगशाला जनकपुर पठाएर निहारिकाकै रोहबरमा डीएनए नमूना लिन अदालतले आदेश दिएको छ । न्यायधीसद्वय रेखा थापा पाण्डे र भोजराज अधिकारीको दुईसदस्यीय इजलासल आदेश दिएपछि सरकारलाई निहारिकाको माग पूरा गर्न बाटो खुलेको छ ।