जनता टाइम्स

१० श्रावण २०७६, शुक्रबार १५:५२

गुठी विधेयकमा सहजीकरण गर्न काठमाडौं महानगरपालिका तयार


काठमाडौं, साउन १० । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विवादित गुठी विधेयक बारे सरोकारवाला गुठीयारहरू बीच अन्तक्र्रिया गरी सर्वसम्मत अवधारणा निर्माण गर्न सहजीकरणको भूमिका खेल्न आफू लगायत काठमाडौं महानगरपालिका पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ ।

काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समितिको आयोजनामा आज भएको एक अन्तक्र्रिया कार्यक्रममा प्रमुख अतिथिको स्थानबाट बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । कार्यक्रमको व्यवस्थापन ज्यापु महागुथि नेपाः येँ महानगर समितिले गरेको थियो । प्रमुख शाक्यले हाल गुठी विधेयक सरकारले फिर्ता लिएको अवस्थामा त्यसलाई उपत्यकाका नेवाः गुठीगानाहरूका पक्षमा आवश्यक संशोधन गर्न सकेमा मात्रै गुठीका लागि भएको आन्दोलनले संस्थागत रूप लिन सक्ने बिचार पनि व्यक्त गर्नुभयो ।

काठमाडौं महानगरपालिका स्थानीय जनताद्वारा निर्वाचित प्रतिनिधिहरूले नै सञ्चालन गर्ने निकाय भएको र यसको प्रमुख काम भनेकै महानगरभरिका सम्पूर्ण सम्पदा, संस्कृति र गुठीगानाको संरक्षण गर्ने भएकोले गुठी र संस्कृतिका सवालमा उत्पन्न भएका कुनै पनि समस्यालाई समाधान गर्ने यसको दायित्व समेत भएको पनि प्रमुख शाक्यले बताउनुभयो ।

कार्यक्रममा ज्यापु महागुथिसँग आवद्ध कानूनविद्हरूले प्रस्तुत गरेका गुठी सम्बन्धी अवधारणाहरू अत्यन्त सकारात्मक भएको बिचार राख्दै प्रमुख शाक्यले अब यो अवधारणालाई अरू जातीय समुदायहरूका बीचमा पनि पु¥याई सर्वसम्मत बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सर्वसम्मत अवधारणा तयार गर्न अहिले सहजीकरणको भूमिका खेल्न मात्र महानगरपालिका अगाडि आएको हो । सम्पूर्ण प्रक्रियाको नेतृत्व लिन हामी आएका होइनौँ ।’

कामपा संस्कृति तथा पर्यटन समितिका संयोजक एवं वडा नंं. १८ का वडा अध्यक्ष न्हुछेकाजी महर्जनको अध्यक्षतामा भएको उक्त अन्तक्र्रियामा ज्यापु महागुथिसँग आवद्ध कानूनविद्हरू जुजुकाजी महर्जन, रीना डंगोल, बुद्धरत्न प्रजापति र युद्धमान महर्जनले गुठी विधेयकमा गरिनुपर्ने संशोधनका बारे बिचार राख्नुभएको थियो । उहाँहरूले विद्यमान गुठी संस्थान खारेज भइसकेपछि त्यसको सट्टामा जात्रापर्व सञ्चालन गर्न छुट्टै निकाय गठन गरिनुपर्ने र त्यस्तो निकायको काम गुठीलाई नियन्त्रण गर्ने नभई निरीक्षण मात्रै गर्ने हुनुपर्ने बिचार राख्नुभयो ।

कार्यक्रममा ज्यापु महागुथि केन्द्रीय समितिका अध्यक्ष राजभाई जकःमि र महानगर समितिका कावा अध्यक्ष नानीहेरा महर्जनले पनि मन्तव्य राख्नुभएको थियो । काठमाडौं महानगरपालिकाले गुठी विधेयकका सवालमा अरु पनि विभिन्न समुदाय र समूहसँग अन्तक्र्रिया गर्दै जाने बताइएको छ ।